आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दुग्ध पदार्थको बिक्रीबाट मासिक ९० हजार रूपैयाँ बचत गरिरहेका छन् इनरुवाका रविन्द्र यादव

बुधबार, पुस १० २०८१
दुग्ध पदार्थको बिक्रीबाट मासिक ९० हजार रूपैयाँ बचत गरिरहेका छन् इनरुवाका रविन्द्र यादव

युवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनी बताउँछन्।

सुनसरी- जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा-२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार रूपैयाँ बचत गर्दै आएका छन्।

रोजगारीको खोजीमा दैनिकरूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन्।

मधेस आन्दोलनका बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेका यादवले कुनै ठाउँमा अवसर नपाएपछि ॐ शिवम दुग्ध तथा डेरी उद्योग सञ्चालन गरे। उनले स्थानीय तथा ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी बिक्री गर्नुका साथै बचेको दूधबाट दही, पनिर र खुवा बनाएर बिक्री गर्दै आएका हुन्।

यादवले अहिले सबै खर्च कटाएर मासिक ९० हजार रूपैयाँसम्म आम्दानी भइरहेको जानकारी दिए। हरिनगर गाउँपालिकाबाट दैनिक तीन सय लिटर र देवानगञ्ज गाउँपालिकाबाट दुई सय लिटर दूध संकलन हुँदै आएको उनले उल्लेख गरे।

दैनिकरूपमा पाँचसय लिटर दूध, एक सय किलो, दही, दुई किलो खुवा र पाँच किलो पनिर बिक्री हुँदै आएको यादवले जानकारी दिए। उनका अनुसार मासिक रूपमा एक लाख २० हजार रूपैयाँ आम्दानी हुनेमा सबै खर्च कटाउँदा ९० हजार रूपैयाँ बचत भइरहेको छ। 

'साँझ र बिहान गरी दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गर्दै आएको छु', यादवले भने, 'मासिक रूपमा बिजुली, घर भाडा, कर्मचारीलाई तलबलगायत अन्य खर्च ३० हजार रूपैयाँ हुँदै आएको छ।'

रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमा स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए। युुवालाई विदेश पलायन हुनबाट रोक्न स्थानीय सरकारले तालिम, सीप प्रदान, अनुदान वितरणलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, पुस १० २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend