आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

बुधबार, पुस १० २०८१
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
फाइल तस्बिर

लेटाङ नगरपालिका-७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन्।

मोरङ- कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन्। लेटाङ नगरपालिका-७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहेका छन्।

शिक्षक राईले अराविका जातको कफीका वार्षिक ४० हजार बिरूवा आफै तयार गरेका छन्। नर्सरीबाट उत्पादित बिरूवा बिक्री गर्नुका साथै ६० रोपनी जमिनमा उनले खेती गरेका छन्।

'चार वर्षअघि रोपिएका बिरूवाले उत्पादन दिन थालेका छन् यसपटक १० क्विन्टलभन्दा बढी उत्पादन भयो', राई भन्छन्। कफीको ‘फ्रेस चेरी’ प्रतिकिलो ९० रूपैयाँका दरले बिक्री हुने गरेको छ। फ्रेस चेरीलाई ‘पल्पिङ’गरी ‘पार्चमेन्ट’ बनाई तयार गर्दा प्रतिकिलो चारसय ५० रूपैयाँदेखि पाँचसय ६० रूपैयाँसम्ममा बिक्री हुने गरेको छ। 

राज एग्रीकल्चर फार्म नै सञ्चालन गरेका राईले भने, 'खाली जमिनमा व्यावसायिक ढंगले कफी उत्पादन गर्न सक्ने हो भने आकर्षक आम्दानी स्वदेशमा नै गर्न सकिन्छ। वैदेशिक रोजगारीमा गर्ने लगानी यस क्षेत्रमा लगानी गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ।'

राईले जस्तै सोही वडाका एक सय २० परिवारले कफीको व्यावसायिक खेती गरेका लेटाङ- ७ का वडाध्यक्ष खगेन्द्रबहादुर लिम्बूले बताए। जिल्लाको भौगोलिक हिसाबले विकट मानिने यस ठाउँ कफीको उत्पादनसँगै तराई बसाइँ सर्ने क्रम रोकिएको छ अध्यक्ष राईले बताए।

वडा नम्बर ७ जस्तै वडा १ मा पनि व्यावसायिक कफीखेती सुरू भएको छ। यो वडामा पनि एक हजार रोपनी जमिनमा एक लाखभन्दा बढी कफीका बिरूवा रोपिएको वडाध्यक्ष विष्णुकुमार मगर बताउँछन्। 'यस अभियानमा स्थानीय दुई सय घरवपरिवार किसान आबद्ध छन्, जसले कृषि क्षेत्रको विकासमा सघाएको छ', अध्यक्ष मगर बताउँछन्।

लेटाङको कफीखेतीले कृषिमा आत्मनिर्भरता र आर्थिक समृद्धिको ढोका खोल्ने लेटाङ नगरपालिका प्रमुख भुपेन्द्रकुमार लावती बताउँछन्। नगरले उच्च प्राथमिकतामा कफीखेतीलाई राखेका उनले बताए।

किसानलाई बीउको व्यवस्था, सिँचाइका लागि पोखरी निर्माण गरिदिने बताउँदै नगरप्रमुख लावती कफीको प्रशोधनमा प्राविधिक सहयोग र जैविक मल उत्पादनमा अनुदान दिइने योजना सुनाउँछन्। रासस


प्रकाशित : बुधबार, पुस १० २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend