आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कागती खेतीबाट मनग्य आम्दानी गर्दै पोखराका कृषक लामिछाने

मंगलबार, पुस ९ २०८१
कागती खेतीबाट मनग्य आम्दानी गर्दै पोखराका कृषक लामिछाने

पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

गण्डकी- भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको स्रोत बनेको छ। पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

जंगलमा परिणत भएको करिब २६ रोपनी जग्गामा ६ वर्षअघि आफूले लगाएको ‘सोना’ पाँचसय र ‘लेमन-ठूलो’ जातका दुईसय गरी कुल सातसय कागतीका बिरूवा ठूला भइ वार्षिक १० लाख रूपैयाँ आम्दानी हुन थालेकामा कृषक लामिछाने दंग छन्।

कागती बिक्रीबाट यसवर्ष २० लाख रूपैयाँ आम्दानी हुने अपेक्षा गरेकामा गत चैत वर्षको १२ गते परेको असिनाका कारण क्षति पुग्दा ६० क्विन्टल उत्पादन हुने अनुमान गरेकोमा ३० क्विन्टल मात्र कागती उत्पादन हुँदा सोचेअनुसार पैसा हात पार्न नसकिएको उनले बताए।

'उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,' उनले भने, 'कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकेजी दुई सयदेखि दुईसय ५० रूपैयाँ सम्ममा बिक्री हुने गरेको छ, बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको छु। हावापानी सुहाँउदो जग्गामा कागती लगाइ लाभान्वित हुन सबैसँग अनुरोध गर्दछु।'

नेपाल सरकारको जागिर छोडेर सुरू गरेको व्यावसायीक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहारसुसार गर्नु दैनिकी बनेको बताउँदै ६३ वर्षीय कृषक लामिछानेले थपे, 'यतिखेरको बेमौसममा पनि दिनमा पचास किलो कागती उत्पादन हुने गरेको छ।'

बाँदरलगायत वन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोक कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ छ।

विसं २०७५ साउन महिनामा धरानस्थित पाख्रीबासबाट दुईसय रूपैयाँका दरले खरिद गरेर ल्याएका बिरूवा साउन महिनामा रोपेको जानकारी दिँदै उनले भने, 'चार वर्षमा उत्पादन दिन सुरू गरेका थिए, पहिलो वर्ष आठ लाख रूपैयाँ आम्दानी भयो र उत्पादनसहित आम्पादनी बढ्नेक्रम जारी छ।'

चार मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती गर्दा हालसम्म ८० लाख रूपैयाँ खर्च भएको उनले जानकारी दिए। कागती रासिलो भएका कारण बजारको माग पनि राम्रो छ। ज्ञान केन्द्र स्याङबाट ल्याइ रोपिएका उन्नत जातका दुईसय बिरूवामा अहिले कागती लटरम्म फलेका छन्।

कृषक लामिछानेले भने, 'रूखबाट झरेका फल पेलेर अघिल्लो साल ४८ माना अमिलो उत्पादन भएको थियो, कालो बाक्लो अमिलो प्रतिमाना एक हजार रूपैयाँ र पातलो झोल पाँचसय रूपैयाँमा बिक्री गर्दै आएको छु, यसवर्ष पनि ३० माना जति अमिलो उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी गर्न सकिने रहेछ।'

बिरूवा रोपेको चार वर्षमै फल दिन सुरू गरेको कागतीको एउटै बोटबाट एक क्विन्टलसम्म  उत्पादन भएको उनले बताए। 'अहिलेसम्म सम्बन्धित क्षेत्रका सरकारवाला पक्षबाट कुनै पनि किसिमको सर-सहयोग प्राप्त भएको छैन,' उनले भने, 'यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ। दैनिक पाँच जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु। काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग उपलब्ध हुन्छ भन्ने सुनेको छु, खै कसले पाउँछन् थाहा छैन।'

पछिल्लो समय तातोपानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ। कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरू गरेको दावी गर्ने लामिछानेले भने, 'राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ।'

बेगनासतालको जलाधार क्षेत्रमा पर्ने उक्त कागती खेतीभित्र अन्तरबालीका रूपमा तरूल, अकवरे खुर्सानी, टिमुर, अमला, एभोकाँडो, अम्बा, नास्पाती, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केराजस्ता विभिन्न जातका फलफूलका बोटबिरूवा फष्टाएका छन्। परीक्षणका लागि लगाएको एउटा स्याउको विरूवाले फलदिन सुरू गरेको बताउँदै उनले भने, 'यस वर्ष ५० देखि ६० वटा फलफलेका थिए सवै बाँदरले खाइदियो।'

लिफ्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरेको बताउँदै कृषक लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख रूपैयाँ खर्च भएको बताए। युवाको रोजाइमा विदेश पर्ने र स्वदेशका अधिकांश जग्गा बाँझिने स्थितिको अन्त्यका लागि कृषि उत्पादन तथा उत्पादकत्त्वतर्फ राज्यको ध्यान जानुपर्ने स्थानीय कृषकको भनाइ छ।

यसैगरी आयातित उपभोग्य वस्तु विस्थापित गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामा समेत योगदान दिने फलफूल तथा तरकारी खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्थासहित सहयोग गर्नुपर्ने स्थानीय किसानको सुझाव छ। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend