आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कैलालीमा यसवर्ष तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

मंगलबार, पुस ९ २०८१
कैलालीमा यसवर्ष तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलालीमा गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अत्तरिया- कैलालीमा यसवर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यसवर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ।

गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुईसय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए। उनले भने, 'गतवर्ष र यसवर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ।' गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै जिल्लामा यस वर्ष छ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एकसय ९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए। सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एकसय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ। त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए। रासस


प्रकाशित : मंगलबार, पुस ९ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend