आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

सोमबार, पुस ८ २०८१
बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

परीक्षण उत्पानको लागि किसानले चार जातका तरकारी प्रतिकिसान एकसय २० देखि एकसय २५ वटा बिरूवाका दरले रोपेका छन्।

सुन्दरबजार- लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ। जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो।

नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी प्रतिकिसान एक रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी उत्पादन परीक्षण गर्न लागिएको सुन्दरबजार नगरपालिका कृषि विकास शाखाका अधिकृत रघुनाथ अधिकारीले जनाकरी दिए।

विशेषगरी बागमती प्रदेशको धादिङका धेरै क्षेत्रमा बेमौसमी लहरे तरकारीबाली उत्पादन हुँदै आएको छ। सुन्दरबजारका किसानलाई पटक-पटक त्यही ठाउँमा कृषि अवलोकन भ्रमण लगेपछि यहाँका किसान पनि बेमौसमी लहरे तरकारी बालीप्रति आकर्षित भएर जिल्लामा नै पहिलोपटक उत्पादन परीक्षणमा लागेका शाखाका अधिकृत अधिकारीले बताए।

अधिकारीका अनुसार पालिजातको करेला, न्यू नारायणी जातको घिरौला, अनमोल जातको लौका र भक्तपुरे काँक्रो सुरूको चरणमा परीक्षण उत्पादनमा लागिएको बताए। अहिले किसानले गुम्बज बनाएर बिरूवा रोप्ने काम गरिरहेका छन्।

आर्थिक वर्ष २०८१/८२ को कृषि विकास शाखातर्फको कार्यक्रममा समावेश गरिएको बेमौसमी तरकारी बाली उत्पादन परीक्षणलाई नगरपालिकाले किसानलाई कच्चापदार्थ र मल बीउमा सहयोग गरेको छ।

उत्पादनको लागि आवश्यकपर्ने कच्चापदार्थ बाँस, गुम्बज बनाउने प्लास्टिक, बीउ, आवश्यक मल, सिँचाइको लागि आवश्यक पर्ने हजारी, कीटनाशक विषादी, विषादी छर्न आवश्यक पर्ने स्प्रे, बिरूवा उत्पादनको लागि आवश्यक पोलिपट र प्राविधिक सहयोग पालिकाले गरेको शाखाका नायब प्राविधिक सहायक तिलकुमारी श्रेष्ठले बताइन्।

प्राविधिक दृष्टिकोणले पनि बेमौसमी तरकारी लहरेबाली उत्पादनको लागि यस भूगोल उपयुक्त भएकाले आफूहरू परीक्षण उत्पानमा सफल हुने किसानको आशा रहेको छ। परीक्षण उत्पानको लागि किसानले चार जातका तरकारी प्रतिकिसान एकसय २० देखि एकसय २५ वटा बिरूवाका दरले रोपेका छन्। रासस


प्रकाशित : सोमबार, पुस ८ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend