आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

म्याग्दे गाउँपालिकामा सामुदायिक वनको सामूहिक धानखेती, विपन्न १६ परिवारलाई निःशुल्क धान वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ५ २०८१
म्याग्दे गाउँपालिकामा सामुदायिक वनको सामूहिक धानखेती, विपन्न १६ परिवारलाई निःशुल्क धान वितरण

सामूहिक खेतीबाट प्रतिघरपरिवार वार्षिक १२/१३ मुरी धान भित्र्याउने किसानले बताएका छन्। उत्पादित धान विपन्न १६ घरधुरी परिवारलाई निःशुल्क वितरण गरिएको छ।

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन्। वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहहरूले सामूहिक रूपमा धानखेती गरेका हुन्।

त्यसबाट उत्पादित धान विपन्न १६ घरधुरी परिवारलाई निःशुल्क वितरण गरिएको बाराही सामुदायिक वन समूहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए।

वन समूहको आम्दानीबाट आठ लाख २५ हजार रुपैयाँमा ३६ रोपनी खेत बन्धकी लिएर १६ घरधुरी उपभोक्तालाई खेतीका लागि उपलब्ध गराइएको खनालले बताए। सामूहिक खेतीबाट प्रतिघरपरिवार वार्षिक १२/१३ मुरी धान भित्र्याउने किसानले बताएका छन्। 

सामुदायिक वनको आम्दानीबाट गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत आठ लाख २५ हजार रुपैयाँमा ३६ रोपनी खेत बन्धकी लिएर १६ घरपरिवार उपभोक्तालाई विगत ६ वर्षदेखि निःशुल्क धान उपलब्ध गराइएको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रत्ना घिमिरेले जानकारी दिइन्।

उक्त उत्पादित धान सङ्कलन एवं १३ सामुदायिक वनको अन्तक्रिया कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले थ्रेसर मेसिनमा धानको मुठा हालेर धान झार्ने कार्यक्रमको शुभारम्भ गरेका थिए।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले सामुदायिक वनले वन संरक्षणसँगै गरिबी निवारणमा पनि उल्लेख्य योगदान पुर्याएको बताए। किसानले खेतमा सिँचाइको व्यवस्था मिलाउनुपर्ने माग गरेपछि अध्यक्ष श्रेष्ठले उपभोक्तासँगको सहकार्यमा सिँचाइको प्रबन्ध गरिने उल्लेख गरे। गाउँपालिकाले ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा सिँचाइको व्यवस्था मिलाइने अध्यक्ष श्रेष्ठको भनाइ थियो।

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख नरबहादुर क्षेत्रीले सबै सामुदायिक वन उपभोक्ता समूहरूले गरिबी निवारणमा काम गर्नुपर्ने बताए। रासस 


प्रकाशित : शुक्रबार, पुस ५ २०८११३:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend