शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटा मोटर्सको वृद्धि २०२२ मा पनि कायम रहने, नयाँ उत्पादन आउने

मंगलबार, माघ ११ २०७८
टाटा मोटर्सको वृद्धि २०२२ मा पनि कायम रहने, नयाँ उत्पादन आउने

२०२१ को अक्टोबर-डिसेम्बरको अवधिमा प्यासेन्जर कार बिक्री ४४ प्रतिशतले बढेर ९९ हजार २ वटा बिक्री भएको हो।

काठमाडौं- भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी टाटा मोटर्सले प्यासेन्जर कारमा २०२१ मा देखिएको वृद्धि २०२२ मा समेत कायम रहने अपेक्षा गरेको छ। प्यासेन्जर कारको माग बढेको र सेमिकन्डक्टरलगायतको आपूर्ति सहज हुँदै गएकाले कार बिक्री बढ्ने कम्पनीले जनाएको हो। 

भारतको मुम्बईवेस्ड सवारी निर्माता टाटाले प्यासेन्जर कारमा उल्लेख्य उपलब्धी हाँसिल गर्दै भएको छ। हाल टाटाका नेक्सन, पन्ज, ह्यारियर, सफारी, टियोर, टियागोलगायत कार उपलब्ध रहेका छन्। 

२०२१ को अक्टोबर-डिसेम्बरको अवधिमा प्यासेन्जर कार बिक्री ४४ प्रतिशतले बढेर ९९ हजार २ वटा बिक्री भएको हो। गत वर्षको सोही अवधिमा टाटाले ६८ हजार ८ सय ६ वटा प्यासेन्जर कार बिक्री गरेको थियो। 

२०२१ को डिसेम्बरमा मात्र टाटाले भारतमा ३५ हजार २ सय ९९ वटा कार बिक्री भएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले २३ हजार ५ सय ४५ वटा कार बिकेको थियो। 

हाल टाटासँग ७ वटा प्यासेन्जर कार मोडल रहेका छन् र टाटाले हासिल गरेको उपलब्धीमा सबैको योगदान रहेको टाटा मोटर्स प्यासेन्जर भेहिकलका प्रबन्ध निर्देशक शैलेष चन्द्रले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। गत वर्षको अन्ततिरकै जस्तो वृद्धि २०२२ मा हासिल हुने विश्वास कम्पनीले लिएको उनले बताएका छन्। 

टाटाले गत वर्ष उपभोक्ताको रोजाइमा रहेको इन्ट्रिलेवल एसयूभी पन्च सार्वजनिक गरेको हो। यो मोडलको माग उल्लेख्य रपमा बढ्दै गइरहेको छ। कम्पनीले विद्युतीय कारलाई समेत उच्च प्राथमिकता दिएको छ। चर्चित एसयूभी नेक्सनको विद्युतीय भर्सनले समेत उल्लेख्य बिक्री संख्या बनाउन सफल भएको छ। 

नेक्सन ईभी पछि टाटाले अल्ट्रोज ईभी, टिगोर ईभी र पन्चको समेत ईभी भर्सन ल्याउने घोषणा गरिसकेको छ। 
टाटाका कार नेपाली बजारमा समेत उपलब्ध हुँदै आएको छ। टाटाका प्यासेन्जर कार सिप्रदी ट्रेडिङ प्रालिले उपलब्ध गराउँदै आइरहेको छ।

कम्पनीले केही महिनाअघि सार्वजनिक गरेको नेक्सन ईभी उपभोक्ताले मागे बमोजिम उपलब्ध नहुँदा केही महिना कुर्नुपर्ने अवस्था रहेको सिप्रदीले जनाएको छ। त्यस्तै टाटाका अन्य कारको समेत माग बढ्दै भएको कम्पनीको भनाइ छ। 


प्रकाशित : मंगलबार, माघ ११ २०७८०८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend