शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अब चाबहिल र मित्रपार्कमा आकाशे पुल

आइतबार, माघ ९ २०७८
अब चाबहिल र मित्रपार्कमा आकाशे पुल

चाबहिल र मित्रपार्कमा आकाशे पुल शिलान्यास

काठमाडौं- काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ। 

आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन्।

पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। उनले स्थानीयहरूको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए।

‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ। जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ। त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो। बाटो फराकिलो छ तर जाम हुन्छ। पहिला पनि यहाँ स्थानीयहरूको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौँ। त्यो पुल धेरै उपयोगी पनि भयो' उनले भने, 'यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपटि शिलान्यास गरेका हौँ। अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ। यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ।'

जयबागेश्वरीमा पनि काम शुरु भइसकेको र तार व्यवस्थापनका लागि केही समय लागिरहेको उनले बताए। यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान गरिएको उनले सुनाए।

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ। दुवै पुल ३३ मिटर लम्बाई र २ मिटर चौडाईको हुनेछ भने यसमा कार्यावेश रकम भ्याटसहित १ करोड ३० लाख ४२ हजार ५ सय ७८ रूपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, माघ ९ २०७८०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend