आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किबीखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छन् डडेल्धुराका लक्ष्मण

बिहीबार , मंसिर २७ २०८१
किबीखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छन् डडेल्धुराका लक्ष्मण

हाल बिरुवा र फलबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गरिरहेका किसान लक्ष्मण थापा मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्।

डडेल्धुरा- जिल्लाको आलिताल गाउँपालिका-२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिकरूपमा किबीखेती गरी वार्षिक १० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

विसं २०७० देखि व्यावसायिक किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको हो। उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबी फलेको छ।

शिक्षण पेसालाई छाडेर आधिकारिक रूपमा ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए। किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट एकसय १० बोट ल्याएर खेती गरेको जानकारी दिए।

मगरले उत्पादित कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौंलगायत सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा बिक्री हुँदै आएको बताए। उनले भने, 'यसवर्ष उत्पादन भएका किबी बगानबाट टिप्नुअगाडि ग्राहकको माग धान्न गाह्रो भएको छ।' 

किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको जानकारी दिए। विसं २०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको उल्लेख गरे।

सुरुका वर्ष प्रतिकिलो पाँचसय रूपैयाँका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए। 'किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनु पर्दैन। बगानभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ', उनले भने, 'कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु।'

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एकसय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको जानकारी दिए। हाल बिरुवा र फलबाट वार्षिक १० लाख रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका किसान मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्।

६ देखि आठ मिटरको दुरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए। लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भइ ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ। किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन्। रासस


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend