शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चार वर्षमा पनि सकिएन ३.८ किलोमिटर सडक निर्माण

शनिबार, माघ ८ २०७८
चार वर्षमा पनि सकिएन ३.८ किलोमिटर सडक निर्माण

म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर ८०० मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर ८०० मिटर सडक निर्माण गर्ने योजना चार वर्षमा पनि पूरा भएको छैन।

बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवानेबाट हुलाकेडाँडा–खबरासम्मको सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले २०७४ साउनमा नागार्जुन देव एण्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

२०७५ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण २०७६ मा सक्ने लक्ष्य थियो।

९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई वर्षदेखि रोकिएको छ। निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक निर्माण नसकिँदै जीर्ण र जोखिमयुक्त बनेको यातायात व्यवसायी लालबहादुर थापाले बताए।  'पिच उप्किएर खाल्डैखाल्डा परेको छ', उनले भने, 'जीर्ण र कच्ची सडकमा दुर्घटनाको जोखिम बढेको छ।'

२०७६ माघमा ७ देखि १० मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्र बिछ्याइएको थियो। कोरोना भाइरसको महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्र हुन सकेन। बर्खामा पहिराले तीन ठाउँमा सडक भासियो।

धेरै ठाउँमा नाली पुरियो। कालोपत्र पनि उप्किएको छ। पहिरो पन्छाउने, मर्मत र दोस्रो चरणको कालोपत्र गर्न बाँकी छ। अधुरो कामलाई पूर्णता दिन ताकेता गरे पनि निर्माण व्यवसायीले अटेर गरेका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए।

'पटक–पटक मौखिक र पत्रमार्फत सडक निर्माणलाई पूर्णता दिन ताकेता गरेका छौँ', उनले भने, 'चैत महिनासम्म म्याद छ। अहिलेसम्म काम सुरु भएको छैन।' बेनी हुँदै बागलुङ आवतजावत गर्न सास्ती भएको यात्रु शिव शर्माले बताए।

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको उहाँले गुनासो गरे।निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले भने पहिराले क्षति पुगेपछि थप गर्नुपर्ने कामको डिजाइनको भेरियसन अर्डर स्वीकृत नभएकाले ढिलाइ भएको बताए।

 'नियमित यातायात सञ्चालनका लागि डोजर परिचालन गरेर मर्मत गरेको छु', उनले भने, 'पहिराको क्षतिका कारण थप गर्नुपर्ने अतिरिक्त कामको भेरियसन अर्डर स्वीकृत नहुँदा ढिलाइ भएको हो।'

भौतिक पूर्वाधार मन्त्रालयको महानिर्देशकले भेरियसन अर्डरको प्रस्ताव स्वीकृत गरिदिए चैत मसान्तसम्म थपिएको समयभित्र बाँकी १० प्रतिशत काम सकेर हस्तान्तरण गर्ने निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले बताए।

यसैगरी देव एण्ड सायर बिएन जेभीले नै ठेक्का लिएको धवलागिरि र मालिका गाउँपालिकाको सिमानास्थित भारवाङको म्याग्दी खोलामाथि निर्माणाधीन मोटरेबल पुल पनि अलपत्र परेको छ।

गत वैशाखमा दुईतर्फी पिलर ठडिएको पुलको त्यसयता बाँकी काम नहुँदा अलपत्र परेको छ। चैतमा सकिनुपर्ने पुलको मुख्य ढलान गर्ने काम बाँकी छ। नदीमा पानीको सतह घटेको अनुकूल समयमा पनि व्यवसायीले काम सुरु गरेका छैनन्।

चालिस मिटर लामो पुल निर्माण गर्न २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले रु छ करोड २४ लाखमा ठेक्का लिएको थियो। भारबाङमा पक्की पुल निर्माण नहुँदा म्याग्दी खोलामा जोखिम मोलेर सवारीसाधन आवतजावत गराउनुपरेको सवारी चालक राम्जी थापाले बताए। रासस


प्रकाशित : शनिबार, माघ ८ २०७८१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend