शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मन्त्री निवास सजाउन ३४ करोड ७७ लाख रूपैयाँ

शनिबार, माघ ८ २०७८
मन्त्री निवास सजाउन ३४ करोड ७७ लाख रूपैयाँ

२७ निवासको भित्रि सजावटका लागि ३४ करोड ७७ लाख ९२ हजार ४ सय ४ रुपैयाँमा ठेक्का भएको हो।

काठमाडौं- ललितपुरको भैँसेपाटीमा निर्माणाधीन संघीय मन्त्रीका लागि बनाइएको निवासको भित्रि सजावटमा ३४ करोड ७७ लाख ९२ हजार ४ सय ४ रुपैयाँ खर्च हुने भएको छ। 

टेन्डरप्रक्रियामार्फत मन्त्री निवास सजाउन जिम्मा ईजी इन्फ्रा प्रालिले पाएको छ। भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण परियोजनाले परेको आवेदन मध्यबाट ईजी इन्फ्रालाई भित्रि सजावटको जिम्मा दिएको छ। कम्पनीले २७ निवासको भित्रि सजावटका लागि ३४ करोड ७७ लाख ९२ हजार ४ सय ४ रुपैयाँमा ठेक्का पाएको हो। यो रकम मूल्य अभिवृद्धि कर र प्रोभिजन सम बाहेकको हो। 

मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत सकिइसकेको छ। चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पहिलो र दोस्रो चरणका सबै काम सम्पन्न गरिसक्ने योजना रहेको छ। 

भवनको भित्रि सजावटको काम ६ महिनाभित्र सक्ने योजना रहेको छ। त्यहीअनुसार सजावटका लागि टेन्डर गरेर निर्माणकर्ताको छनोट भएको हो। 

सरकारले भैँसेपाटीमा मन्त्री आवास निर्माणको लागि २०७६ कात्तिक २७ गते श्रीको हनुमान जेभीसँग सम्झौता गरेको थियो।

उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्ष तोकिको थियो। सम्झौता दुई वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको थियो। सरकारको सम्झौता भएबमोजिम उक्त आयोजनाको कार्य गत कात्तिकमै सम्पन्न गर्नुपर्ने हो। तर, कोरोनाको असर परेकाले सरकारले ६ महिना म्याद थपेको समयअनुसार निर्माण कम्पनी श्रीको हनुमान जेभीले आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्ने छ।

निर्माण कम्पनी श्रीको हनुमान जेभीसँग दुई वर्षअघि ९६ रोपनी १० आना जग्गामा २७ वटा निवास बनाउने काम गर्न १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो।

सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गर्ने योजनासहित ठेक्का लगाएको थियो। 

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण लगभग सम्पन्न भएको आायोजनाले जनाएको छ। अब सजावटको कामले समेत तीब्रता पाउने छ। दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हलसमेत बन्ने छ।

मन्त्री निवासमा क्षेत्रमा आममानिसको जग्गा परेको र बाटोको समेत केही विवाद रहेको छ। केही महिनाअघि संसदीय समितिमा मन्त्री निवास क्षेत्रमा भएका विवाद छिटो समाधान गर्नुपर्ने विषय समेत उठेको थियो।


प्रकाशित : शनिबार, माघ ८ २०७८०९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend