आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २३ २०८१
बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन्। किसान गङ्गा केसीका अनुसार सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको हो।

बागलुङ- धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो। उनले ९ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन्। अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन्।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ। उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रुपैयाँ किसानलाई बुझाएको बताए। तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए।

'सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर दुई/चार लाख कमाइन्छ', तामाङले भने, 'किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ।'

तामाङले एउटै बगैँचालाई तीन लाख रुपैयाँसम्म तिरेर सुन्तला खरिद गरेको बताए। सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन्।

सुुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए। खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन्। 

खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ। यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौं, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन्। किसान गङ्गा केसीका अनुसार सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको हो। 

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको एक लाख रुपैयाँदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन्।

सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन्। यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए। अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन्। रासस 


प्रकाशित : आइतबार, मंसिर २३ २०८११०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend