आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

केराखेतीबाट वार्षिक एक करोड ५० लाख रूपैयाँ आम्दानी

शनिबार, मंसिर २२ २०८१
केराखेतीबाट वार्षिक एक करोड ५० लाख रूपैयाँ आम्दानी

यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन्।

पर्वत- जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक एक करोड ५० लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ।

यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन्।

विसं २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो। सोही बीउलाई आर्थिक वर्ष २०७६/७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिए। रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक एक करोड ५० लाख रूप‌ैयाँसम्म भित्र्याउने गरेका उनले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेतीतर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गरे। जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रिकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदानलगायतमा ८१ लाख रूपैयाँ सहयोग गरिएको उनले जानकारी दिए।

अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताए। उनका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुश्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुंगा, पातीचौरलगायत बजारमा खपत हुने गरेको छ।

गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताए। केरा व्यापारी गाडी लिएर केराको बगैँचासम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उनले उल्लेख गरे।

युवापुस्ताको विदेश पलायनसँगै बाँझिदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताए। उनका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन्। हरेक कृषकले न्यूनतम ५० हजार रूप‌ैयाँदेखि तीन लाख रूपैयाँसम्म आम्दानी गर्दै आएको उनले जानकारी दिए।

कम जनशक्ति, न्यून लागत र एकपटक लगाएपछि वर्षौँसम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताए। प्रत्येक कृषकले न्यूनतम पाँचदेखि १० रोपनीसम्म क्षेत्रमा खेती गरिरहेका छन्।

केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन्। केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुश्मा-१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए। कृषकलाई गत वर्ष केराको अचार उत्पादनसम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उनले बताए।

कृषकहरू केराखेतीबाट पूर्ण रूपमा आत्मनिर्भर भइनसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग संघीय सरकारसँग गरिएको जानकारी दिए। केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुनेक्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उनले उल्लेख गरे। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८११२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend