आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

घर बेचेर कृषिमा लगानी

शनिबार, मंसिर २२ २०८१
घर बेचेर कृषिमा लगानी

गुप्तप्रसाद रेग्मीले कृषिफर्मसँगै यहाँ आउने पर्यटकहरूका लागि खाने र बस्ने सुविधासमेत उपलब्ध गराउँदै आएका छन्। उनले १० जनासम्मलाई खान र बस्न मिल्नेगरी घरबाससमेत सञ्चालन गरेको बताए।

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-११ का गुप्तप्रसाद रेग्मीले राजमार्गसँगै जोडिएको साढे दुईतले घर बेचेर कृषिमा लगानी गरेका छन्। पूर्वपश्चिम राजमार्गसँगै रहेको घर बेचेर उनले गैँडाकोट-१८ बसेनीमा जग्गा किनेर दुई करोड ६५ लाख रूपैयाँ लगानी गरी टीकारत्न टुल्की कृषि फर्म सञ्चालन गरेका छन्।

विसं २०७५ मा बसेनीमा ८२ रोपनी जग्गा गरेर उनले कृषि कर्मलाई अगाडि बढाएका हुन्। 'यो पूरै डाँडो सबै झाडीले घेरिएको थियो', रेग्मीले भने, 'यहाँ घुमेर गएपछि राजमार्गसँगै रहेको साढे दुईतले घर बिक्री गरेर यहाँ लगानी गरेँ, अहिले सन्तुष्ट छु।'

यस ठाउँको झाडी सफा गर्नमात्रै एक हजार पाँचसय श्रमिक लागेका उनले स्मरण गरे। 'लालपुर्जा भएको जग्गा भए पनि सिँचाइको अभावमा उत्पादन नभएपछि बाँझो रहेको जग्गा किनेर खेती सुरू गरेँ,' उनले भने, 'मैले यहाँ उत्पादन गरेको देखेर केही व्यक्तिहरू विदेशबाट फर्किएर पनि यहीँ किसानी गरेका छन्।'

उमेरले ६६ वर्ष लागेका रेग्मीको दैनिकी नै दिनभरि बारीमा घुम्ने र बोटबिरूवामा देखिएको समस्या समाधानका लागि काम गर्ने तथा बिरूवालाई प्रोटिन पुर्‍याउने काममा बित्ने गरेको छ। 'पहिलो झाडीले घेरिएको यो डाँडामा अहिले एक हजार पाँचसय वटा सुन्तला, आठसय वटा कागती, तीनसय वटा निबुवा, ६० वटा लप्सी, २५ वटा स्याउ, किबी, आँप, कटहर, लिची, टिम्मुर, चेरीलगायत फलफूलका बोटबिरूवाहरू छन्', रेग्मीले भने, 'अब धेरै फलफूलबाट आम्दानी लिन सुरू भइसकेको छ।' 

उनका अनुसार आँप, कागती, निबुवा, सुन्तलासहित फलफूलले आम्दानी दिन सुरू गरिसके। 'यस वर्ष मात्रै ५० क्विन्टल कागती काठमाडौं पठाएँ, पाँच क्विन्टल यहीँको स्थानीय बजारमा बिक्री भयो', उनले भने, 'निबुवाबाट रस निचोरेर तीनसय लिटर चुक बनाएको छु, ५० लिटर बिक्री भइसकेको छ भने सुन्तला बेचेरमात्रै एक लाख २० हजार रूपैयाँ आम्दानी भइसक्यो।'

रेग्मीको कृषि फार्ममा रहेका बोटमा अझै लटरम्मै पाकेका सुन्तला छन्। 'सुन्तला जोनले चाँडो नटिप्नु, गुणस्तर बिग्रिन्छ भनेको भएर यी सुन्तला टिपेको छैन', उनले भने, 'यी पाकेका सुन्तला पुस लागेपछि टिप्न सुरू गर्ने तयारी छ।'

एउटै सुन्तलाको बोटबाट एक क्विन्टलसम्म सुन्तला टिपेको उनले बताए। 'सुन्तला राम्रो फलेको भएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुन्तलाको बोटमा क्रप कटिङ गर्न चिह्न लगाएर जानुभएको छ', रेग्मीले भने, 'सबैभन्दा बढी फलेको रूख र कम फलेको रूखमा चिह्न लगाइएको छ, केही दिनपछि कृषि प्राविधिकहरू आएर बगैँचा व्यवस्थापनको तालिम दिने जानकारी गराउनुभएको छ।'

रेग्मीको फर्ममा फलेका सुन्तला बोटबाटै बिक्री हुने गरेको भन्दै बजार खोज्नुपर्ने अवस्था नरहेको उनले बताए।

सुरूवाती अवस्थामा यहाँ अमिला जातका फलफूल लगाउन सुन्तला जोनबाट सिँचाइमा ५० प्रतिशत अनुदान, बिरूवामा ५० प्रतिशत अनुदान, थोपा सिँचाइमा अनुदान, औजारमा समेत अनुदान पाएको रेग्मीको भनाइ छ। 'पहिला पाँच सय मिटर तल रहेको खोलामा जेनेरेटरबाट विद्युत् निकालेर बोरिङबाट पानी तानेर सिँचाइ गर्दासमेत अनुदान आएको थियो', रेग्मीले भने, 'एक महिना अगाडि राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइपुगेपछि अहिले सिँचाइलाई सहज भएको छ।' 

फलफूलका बिरूवाहरूमा गोडमेलसहित खर्चमात्रै वार्षिक १० लाख रूपैयाँ हुने गरेको भन्दै उनले यस वर्षबाट खर्चभन्दा आम्दानी बढी हुन लागेको बताए। 'गत वर्षसम्म लगानी गरेको पैसा पनि उठेको थिएन, बर्सेनि ४० ट्र्याक्टर त मल गाईभैँसीको मल नै हाल्नुपर्छ,' रेग्मीले भने, 'यस वर्षबाट भने सबै खर्च कटाएर तीन लाख रूपैयाँभन्दा बढी बचत हुने अनुमान गरेको छु।'

रेग्मीले कृषिफर्मसँगै यहाँ आउने पर्यटकहरूका लागि खाने र बस्ने सुविधासमेत उपलब्ध गराउँदै आएका छन्। उनले १० जनासम्मलाई खान र बस्न मिल्नेगरी घरबाससमेत सञ्चालन गरेको बताए। 'यहीँ उत्पादन भएका खाना तथा स्थानीय जातको कुखुराको मासु खाएर पर्यटकहरू बस्ने व्यवस्था गरेको छु', उनले भने, 'पछिल्लो समय विभिन्न क्षेत्रबाट यहाँ आएर बस्ने गर्नुभएको छ।' रेग्मीसँगै अन्य तीनजनाले यहाँ सुन्तला खेती सुरू गरेकामा अहिले गाउँमा धेरैले उनको सिको गरेका रेग्मीको भनाइ छ। 

स्थानीय कृष्णबहादुर सारूमगरले समेत आफ्नो पाखो बारीमा एक हजार तीनसय ५० बोट सुन्तला लगाएको बताए। 'पानी नहुनाले अरू केही पनि खेती हुँदैनथ्यो, अहिले सुन्तला लगाएर राम्रै उत्पादन भएको छ', सारूमगरले भने, 'सुन्तला बिक्री गर्न टाढा जानु पर्दैन, गाउँघरमै आएका मान्छेले लिएर जान्छन्।' उनले आफ्नो बारीको सुन्तलासँग धान साट्ने गरेको समेत बताए।

विसं २०७७ बाट सुन्तला लगाउन सुरू गरेको भन्दै उनले आफूले लगाएको सुन्तलाले भरखरै उत्पादन दिन सुरू गरेको बताए। 'यसपटक दुई टिप सुन्तला बिक्री गरेँ, सुन्तला बिक्री गर्दा पैसाभन्दा पनि धान लिने गरेको छु, उत्पादन धेरै हुन थालेपछि पैसामा बिक्री गर्नुपर्ला', उनले भने। सुन्तलाखेती गर्दा कृषि विकास कार्यालयबाट औषधि र बिरूवामा अनुदान पाएको उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, मंसिर २२ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend