शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

बुधबार, मंसिर १९ २०८१
डीएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन्। यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित  छन्।

झापा- संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डीएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ।

झापालगायत विभिन्न जिल्लामा वर्षौँदेखि सुपारी उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ। सुपारी उत्पादक किसान संघका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ। प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई आठ देखि १२ अर्ब रूपैयाँसम्म पर्छ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको संघका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताए।

'संसदीय समितिले डीएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ', उनी भन्छन्, 'दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डीएनएन, केही अत्तोपत्तो छैन।'

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डीएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए। डीएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ। इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डीएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो। डीएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन्। गत वर्षदेखि सुपारी निर्यात भएको छैन।

मेचीनगर नगरपालिकाका जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिएका छन्। धान खेत मासेर उनले डेढ बिघामा सुपारीखेती गरेका छन्। 'बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्', किसान पाण्डेले समस्या सुनाउँदै भने, 'दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे।' 

मेचीनगर-४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे।

बाहुनडाँगीमा जंगली हात्तीले धान, मकैलगायत  बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन्। यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित  छन्। संघका अध्यक्ष तिवारी सुपारीको डीएनए परीक्षणमा अल्झिन नहुने बताउँछन्। सरकारले दानाको डीएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डीएनए सम्भव नहुने उनले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर १९ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend