आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

अज्ञात रोगले जुम्लामा एकै किसानका २५ भेडा मरे, कतैबाट सहयोग नभएको किसानको गुनासो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १७ २०८१
अज्ञात रोगले जुम्लामा एकै किसानका २५ भेडा मरे, कतैबाट सहयोग नभएको किसानको गुनासो

भेडा मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गराएको तीन दिन भए पनि हालसम्म कसैबाट सहयोग पाउन नसकेको भेडापालक किसानले गुनासो गरे।

जुम्ला- जिल्लाको तिला गाउँपालिका-५ स्थित ढिम्कोट गाउँका भेडापालक किसान कर्णवीर शाहीका २५ भेडा मरेका छन्। भेडापालक किसान शाहीका ४० वटा भेडामध्ये एक्कासि २५ भेडा मरेका हुन्।

अज्ञात रोगले जाजरकोटको छेडागाड नगरपालिका-७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा मरेका तिला-५ का वडाध्यक्ष ललित शाहीले जानकारी दिए। 

भेडा मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गराएको तीन दिन भए पनि हालसम्म कसैबाट सहयोग पाउन नसकेको भेडापालक किसान शाहीले गुनासो गरे। 

शाहीका अनुसार चरिचरनका लागि जुम्लाबाट जाजरकोटको छेडागाड नगरपालिका-७ मा रहेको पौँजा भन्ने ठाउँमा भेडा ल्याइएका छन्।

'तीन दिनभित्र २५ वटा भेडा मरिसके। बिरामी भेडाको मुखबाट र दिसा पिसाब गर्ने ठाउँबाट रगत निस्कने गरेको छ। बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरे पनि सुनुवाइ हुन सकेको छैन। रगत निस्किएको एक घण्टाभित्रै भेडा मर्ने गरेका छन्', भेडापालक किसान शाहीले भने। 

वडाध्यक्ष शाहीका अनुसार गत आव २०८०/८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत माईथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका-५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएका थिए। 

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढ्थापाले जाजरकोट पशु अस्पतालका प्रमुख कपिलप्रसाद उपाध्यायलाई घटनाबारे जानकारी गरिएको बताए। रासस  


प्रकाशित : सोमबार, मंसिर १७ २०८११०:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend