आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कृषि विश्वविद्यालयले प्रदर्शनी तथा किसान मेला गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर १६ २०८१
कृषि विश्वविद्यालयले प्रदर्शनी तथा किसान मेला गर्ने

विश्वविद्यालयको कृषि संकायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ।

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ। विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरु गर्न लागेको हो। 

मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो।

विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो। किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १३५ कक्ष रहने छन्। 

कट्टेलका अनुसार विश्वविद्यालयको कृषि संकायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ। यहाँ किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने उनले बताए।

कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव-वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफल हुने कट्टेलले जानकारी दिए। 

मेलाबाट १० हजारभन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उनले बताए। मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुंगा बन्ने उनको विश्वास छ।  

विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ। 

उनले भने, 'सबै विद्यार्थी हाम्रा लागि समान हुन्, सबैलाई सम्मान गर्ने छौँ।' उद्यममा लागेकाबीच मूल्यांकन गरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ। विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उनले यस कार्यक्रमलाई अब हरेक दुई/दुई वर्षमा गरिने बताए। रासस


प्रकाशित : आइतबार, मंसिर १६ २०८११४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend