आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आम्दानीको स्रोत तरकारीखेती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १३ २०८१
आम्दानीको स्रोत तरकारीखेती

उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए।

अत्तरिया- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्।

त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीका रामआश्रय राना। उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए। 

उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन्। 'पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आशा छ', रानाले भने, 'छ जनाको परिवार छ। तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ। केही बचत पनि हुन्छ।' उनले मौषमअनुसार तरकारी लगाउने गरेका छन्।

सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन्। 'पाँच जनाको परिवार छ। तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ। मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ', उनको भनाइ छ। 

सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाए। उनले एउटा ‘सिजन’मा एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। 'मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ। आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ', उनले भने। 

उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ। 'आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने। फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन। बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ। यसैमा खुसी छौँ', यहाँका किसानले भन्ने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend