आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

बुधबार, मंसिर १२ २०८१
फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन्। बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन्।

ताप्लेजुङ- फक्ताङ्लुङ गाउँपालिका-६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन्। ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको हो। 

इटालीबाट आयात गरिएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले पहिलोपटक फल दिएका छन्। बिरुवामा फल लागेपछि किसानहरू उत्साहित भएका छन्। मनाङ एग्रो फार्मको समन्वयमा बिरुवा ल्याएर परीक्षणका रूपमा रोपिएका र फल लागेकामा दङ्ग स्याउ किसान मिङ्मा शेर्पाले व्यावसायिक रूपमा स्याउखेत गर्न सकिने बताए।

फलेटार र घुन्सामा दुई रोपनी जग्गामा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ। स्वीटजरल्याण्डको टोली, स्थानीय समुदाय र पुतली सहयोग योजना नामक संस्थाको साझेदारीमा नमूना स्याउ बगैँचामा दिगो पर्यावरणीय कृषि प्रणाली कार्याक्रमअन्तर्गत नमूना स्याउ बगैँचा सुरु गरेको पुतली सहयोग योजना संस्थाका जिल्ला कार्यक्रम संयोजक दावाछिरिङ शेर्पाले बताए।

शेर्पाका अनुसार परियोजनाले स्याउ उत्पादनमात्र नभएर अन्य कृषि उपजका माध्यमबाट किसानलाई आर्थिक रूपमा सशक्त बनाउन स्याउखेती गर्न थालिएको हो। घुन्सा स्याउ नमूना बगैँचामा ६० वटा जापनिज फुजी (पोथी), १० वटा गोल्डेन डेलिसियस (भाले) र १० काला (भाले) प्रजातिका स्याउका बिरुवा फल्ने क्रममा रहेको संयोजक शेर्पाले बताए।

स्याउ बगैँचामा जैविक विविधता कायम गर्न  पाँच घार मौरी र कुखुरापालन गरेको संस्थाले जनाएको छ। फलेटार क्षेत्रमा रहेको नमूना स्याउ बगैँंचामा उस्तै प्रकार स्याउका बिरुवा  लगाइएको छ। संस्थाले स्याउ बगैँचा हेरचारका लागि एक जना कृषि प्रविधिक राखेको छ भने अन्य सहयोगीको समेत व्यवस्था गरेको छ। 

स्याउखेतीको सम्भाव्यता अध्ययन गर्न फलेटार र घुन्साको माटो तीन वर्षअघि स्वीट्जरल्याण्डमा परीक्षण भएको थियो। यस वर्ष परीक्षणका रूपमा ४०-४० बिरुवा रोपिएको छ। प्रारम्भिक नतिजाले स्याउखेती सफल हुने संकेत दिएको छ तर पूर्णरूपमा खेती सफल हुन तीन वर्षसम्मको परीक्षणलाई पर्खनुपर्ने पुतली सहयोग योजनाले जनाएको छ।

स्याउखेती गरिएका क्षेत्रमा कुखुरा र मौरीपालन गरिएको छ। कुखुराको मलले माटो उर्वर बनाउन सहयोग पुर्‍याएको छ भने मौरीले स्याउका फूलको परागसेचनमा योगदान दिएको छ। तर हिउँदमा अत्यधिक चिसोका कारण मौरीपालनमा चुनौती छ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend