आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

गुल्मीमा धान उत्पादन बढ्यो

बुधबार, मंसिर १२ २०८१
गुल्मीमा धान उत्पादन बढ्यो

यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ।

गुल्मी- जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। गत वर्ष २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको क्षेत्रफल भने यो वर्ष घटेको छ। गत वर्ष सात हजार चार सय ३९ हेक्टरमा धानखेती गरिएकामा यो वर्ष सात हजार दुई सय ८८ हेक्टरमा त्यो सीमित रह्यो।

समयमा वर्षा, उन्नत तथा हाइब्रिड बीउको प्रयोग, यान्त्रिकीकरण र समयमा रासायनिक मलको उपलब्धताले उत्पादन बढेको हो गत वर्षभन्दा यस वर्ष बर्खे धान उत्पादनमा भने १४ प्रतिशतले कमी आएको छ। यस वर्ष बर्खे धान एक हजार दुई सय ८६ मेट्रिक टन र हिउँदे धान २४ हजार ४३ मेट्रिक टन उत्पादन भएको छ। 

जिल्लाका इस्माको चौरासी, सत्यवतीको जोहाङ, उर्लीखोला कालीगण्डकीको अर्बेनी, कनौटा, छापचौर, सत्यवतीको जुहार खैरेनी, अस्लेवा, चन्द्रकोटको मजुवा, रुपाकोट फाँट धान उत्पादनका निम्ति उर्वर मानिन्छन्।

मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाढको सुदी खोलाको आसपासका क्षेत्र, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी, धुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरबारको गरमटारी, छत्रकोटको खज्र्याङ, मनबागलगायत फाँटमा पनि अधिक  धान उत्पादन हुने गरेको छ।

यहाँ हंसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मँडियारे, रातोे मार्सी र मार्सीलगायत जातका धान उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend