आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लाको एउटै वडाबाट तीन करोडको सिमी उत्पादन

बिहीबार , मंसिर ६ २०८१
जुम्लाको एउटै वडाबाट तीन करोडको सिमी उत्पादन
फाइल तस्बिर

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ। गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्।

जुम्ला- जिल्लाको तिला गाउँपालिका-१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रूपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।

यहाँका आठवट स्थानीय तहमध्ये सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्नेतले जानकारी दिए। विगतमा आठ क्विन्टलभन्दा बढी उत्पादन नहुने गरेकामा यस वर्ष बढी खेती गर्नेले १५ क्विन्टल र कम खेती गर्नेले चार क्विन्टलसम्म सिमी उत्पादन गरेका छन्। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो।

वडाध्यक्ष बस्नेतले गाउँमा सिँचाइको सुविधा पुर्‍याउन चालु आर्थिक वर्षमा वडा कार्यालयले ३० लाख रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। यसअघि सिँचाइको सुविधा नहुँदा यहाँका किसानलाई आकासे पानीको भर पर्नुपरेको थियो। गाउँमा पानी पुर्‍याउन स्थानीय सरकारले निरन्तर योजना बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ।

सिमी बढी उत्पादन हुने वडा नं १ मा दुईसय ९० परिवार छन्। अहिले गाउँमा पुगेर व्यापारीले प्रतिकेजी दुईसय रूपैयाँका दरले सिमी खरिद गर्ने गरेका राराका स्थानीय नर रावतले जानकारी दिए। वडालाई सिमी उत्पादनको पकेट क्षेत्रसमेत मानिएको छ। सिमी लगाउने र फल्ने मौसममा वर्षा हुनुका साथै सहज सिँचाइ सुविधा भएपछि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।

गाउँका किसानलाई लक्षित गरेर ‘एक गाउँ एक उत्पादन’को रणनीति ल्याएर स्थानीय तहले काम गरिरहेको छ। गाउँबाट सबैभन्दा बढी सिमी उत्पादन गर्ने किसानलाई प्रोत्साहनसमेत गरिने तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन्। उक्त वडाको मुख्य आम्दानी सिमी र स्याउ हो। अब सिमी र स्याउ खेतीलाई थप प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट यहाँका किसानलाई अनुदान उपलब्ध गराइने उनले उल्लेख गरिन्।

सिमीको पकेट क्षेत्र भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाले तिला-१ रारालाई सिमी जोन कार्यक्रम लागु गरेको छ। उक्त पालिको वडा नं १ सहित २, ८ र ९ वडाको आठ सय क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend