आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

अन्य खेतीको तुलनामा मनग्य आम्दानी हुने भएपछि च्याउखेतीमा कैलालीका किसानको आकर्षण

बिहीबार , मंसिर ६ २०८१
अन्य खेतीको तुलनामा मनग्य आम्दानी हुने भएपछि च्याउखेतीमा कैलालीका किसानको आकर्षण

अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो।

अत्तरिया- कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन्। अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्य आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो।

धनगढी उपमहानगरपालिका-११, जोकैयाका मंगल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन्। उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन्। चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल पाँचवटा टनेलबाट च्याउ उत्पादन गर्दै आएका छन्।

पाँचवटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा ६ लाख बचत हुने उनले बताए। उनले भने, 'हिउँदका ६ महिनामात्रै च्याउ उत्पादन गर्छु। ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु। यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ।'

'बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन', उनले भने, 'प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु।' च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उनी बताउँछन्।

उनले भने, 'यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ। चार जनाको परिवार छ, घर खर्च चलेको छ। पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु।' च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनले सुनाए।

यसैगरी, गोदावरी नगरपालिका-८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छिन्। च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक दुई लाख बचत हुने गरेको उनले बताइन्। उनले भनिन्, 'च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ।' च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ। 

च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक एक लाख बचत गर्दै आएको बताइन्। रासस


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend