आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

खायन आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन

बुधबार, मंसिर ५ २०८१
खायन आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
फाइल तस्बिर

गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट तीन करोड रूपैयाँ विनियोजन भएको थियो। खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ।

पर्वत- खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले एक करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ। यो वर्ष जिल्लाका सातवटै पालिकाका एकसय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागु गरिएको हो। आर्थिक वर्ष २०८०/८१ मा एक सय ५२ हेक्टरमा आलुखेती गरिएको थियो।

यसवर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए।

गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट तीन करोड रूपैयाँ विनियोजन भएको थियो। खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ। हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ। 

गत आवमा जिल्लाभर तीन हजार तीन सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो। आलु बेचेर आठ करोड रूपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ। पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस-४२, कुफ्री, ज्योति, ताराखोला जातका आलु राम्रो उत्पादन हुने गरेको छ।

प्रतिहेक्टर न्यूनतम २६ मेट्रिक टनदेखि अधिकतम ४६ मेट्रिक टनसम्म उत्पादन भएको केन्द्रका बागवानी विकास अधिकृत पौडेलले बताए। यसबाट उपभोगका लागि किसानहरूलाई खरिद गर्न नपर्नुका साथै बिक्रीबाट राम्रो आम्दानी हुने पौडेलले बताए।

आलुखेतीमा लागेका किसानलाई अनुदान रकमबाहेक केन्द्रले यान्त्रिकीकरण, मल र बीउमा सहयोगका साथै  नियमित रूपमा अनुगमन पनि गर्दै आएको छ। किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ। 

कार्यक्रम सुरु हुनुपुर्व  जिल्लाका उत्तरी क्षेत्रमा पर्ने शालिजा, लेखफाँट, बनौ, बाँसखर्क र दक्षिणी भेगका भोक्सिङमा मुख्य बालीका रूपमा आलुखेती हुने गरेको थियो। जिल्लाको एक हजार तीन सय हेक्टर जमिन आलु उत्पादनका निम्ति उर्वर मानिन्छ। उक्त क्षेत्रमा १३ हजार सात सय ७५ मेट्रिक टन आलु उत्पादन हुने केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए। रासस 


प्रकाशित : बुधबार, मंसिर ५ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend