बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सफलताको कथा

लाखबाट सुरु गरेको गार्मेन्ट उद्योगमा सयौँलाई रोजगारी, करोडौँको सामान विदेश निर्यात

बुधबार, मंसिर ५ २०८१
लाखबाट सुरु गरेको गार्मेन्ट उद्योगमा सयौँलाई रोजगारी, करोडौँको सामान विदेश निर्यात

व्यवसायको शिलशिलामा शिवप्रसाद भट्टले विभिन्न देश भ्रमणको अवसर पाइसके। आफ्नो सामान विश्व बजारमा पठाए। आफ्ना उत्पादनमा घुमफिरमा रुचि भएका विदेशीहरूले मन पराएको उनी सुनाउँछन्।

काठमाडौं- जीवनमा सपना देख्न सहज भए पनि त्यसलाई पछ्याएर मेहनतपूर्वक बिपना बनाउनु सहज छैन। लक्ष्य पूरा गर्न ठूलो महत्वाकांक्षा बोकेर हिँड्नेहरू जति छन् त्यसलाई पूरा गर्नेहरू सीमित। तर कोही यस्ता हुन्छन् जो ठूला सपना नदेखि निरन्तर कर्ममा लागेर सफल हुन्छन्। नसोचिएका सफलता प्राप्त गर्छन्। 

निरन्तर कर्मको मेहनतमा लागिरहँदा नसोचिएका सफलता भेट्नु कसका लागि पो सुखद नहोला र! गोरखाका शिवप्रसाद भट्टले यस्तै गर्विलो सफलता पाइरहेका छन्, निरन्तरको कर्म र मेहनतबाट। 

२०६२ सालमा १२ कक्षा पास गरेर काठमाडौं आउँदा नयाँ जुत्ता लगाउन पाउँदामात्र पनि खुसीले उफ्रिने भट्ट अहिले करोडौँको मालिक बनेका छन्। काठमाडौं आएसँगै दुई वर्ष गार्मेन्ट उद्योगमा काम गरेका उनले त्यसपछि जीवनलाई फरक भूमिकामा उभ्याए। जसले सफलताको उचाइ भेटियो। सयौँलाई रोजगारी दिनसक्ने अवस्था बन्यो। देशमा विदेशी मुद्रा भित्र्याउन सफल बने। 

भट्ट काठमाडौं आएको समय रोजगारीका लागि विदेश जाने लहर चलिसकेको थियो। उनलाई पनि विदेश जाने सोच नआएको होइन। सायद समयले उनका लागि नेपालमा नै सफलता लेखिदिएको रहेछ। उनीसँगैका साथी अमेरिका अष्ट्रेलिया छन्। भट्टले भने नेपालमा नै उदाहरणीय काम गरिरहेका छन्। जसले विदेशिएकाहरू पनि उनको तारिफ गर्न पछि पर्दैनन्। 

२०६५ सालमा भट्टले जागिर छाडे। शिवशक्ति गार्मेन्ट कम्पनी स्थापना गरी एउटा कोठामा केही थान मेसिन राखेर कटनका कपडा बुनेर तयार पार्न थाले। ती कपडा विदेशीहरूलाई बिक्री गरे। 

‘मैले ७ लाख रुपैयाँ लगानी गरेर उद्योग सुरू गरेको हुँ। अहिले मैले मेरो जीवनमा नसोचेको सफलता पाएको छु। यसले खुसी छु,’ भट्टले सुनाए।

bhatta garment (1).jpg

व्यवसाय सुरु गरेको पहिलो पाँच वर्ष सिक्दै अघि बढ्दै मेहनत गरे। पछिल्लो १० वर्ष भने निरन्तरको कर्म सफलतामा बितिरहेको छ। ६ वटामात्रै मेसिन राखेर सुरु गरेको काममा उनले कमाउँदै मेसिनहरू पनि थप्दै गए। उत्पादनहरू सुरुको दिनदेखि नै विदेश निर्यात हुन थाल्यो। मेहनतसँगै आफूलाई भाग्यले पनि साथ दिएको उनी सुनाउँछन्। त्यसैले सफलताको खुड्किलामा उनलाई अहिले पछाडि फर्केर हेर्नु परेको छैन। 

प्रत्येक वर्ष माग बढ्दै गयो। कमाइ भएसँगै उनले लगानी थप्दै गए। कटनका मात्रै कपडा उत्पादन हुने र सबै हातले नै बनाइने हुँदा विदेशीहरूको विशेष रुचि हुने गरेको भट्ट सुनाउँछन्। 'अर्डर लिएर सामान बनाएपछि बाहिर नै पठाउने काम हुन्छ।खासगरी क्याजुअलभन्दा पनि हेब्बी टाइपका डिजाइनमा उत्पादन हुने गरेको छ। १५ वर्षमा आजसम्म सबैजसो सामान विदेश नै निर्यात भएको छ' उनले भने।

व्यवसायको शिलशिलामा भट्टले विभिन्न देश भ्रमणको अवसर पाइसके। आफ्नो सामान विश्व बजारमा पठाए। आफ्ना उत्पादनमा घुमफिरमा रुचि भएका विदेशीहरूले मन पराएको उनी सुनाउँछन्।    

bhatta garment (2).jpg

उद्योगमा अहिले प्रत्यक्ष रुपमा दुई सय जनाले रोजगारी पाएका छन्। काम गर्ने सबैजना खुसी नै रहेको र थोरैमा पनि ३५ हजार रुपैयाँ मासिक आम्दानी गरिरहेको सन्तुष्ट भावमा भट्टले सुनाए। धेरैले उनकै उद्योगमा आएर पनि काम सिकेका छन्। केही दक्षबाहेक सबैलाई तालिम नै दिएर पनि काम गराउने गरेको उनी बताउँछन्। 

शून्यबाट सुरु गरेको व्यवसायले भट्टलाई अहिले घरगाडी जस्ता सुविधा सबै पुर्‍याएको छ। भाडामा राखेर सुरु गरेको उद्योग अहिले आफ्नै दुई रोपनी जग्गामा खडा भएको छ। अहिले मासिक ३० हजार पिसभन्दा बढी सामान निर्यात हुन्छ। पहिले वार्षिक केही लाखको सामान उत्पादन गरेर बाहिर पठाउने उद्योगले अहिले वार्षिक २० देखि ३० करोडको सामान पठाउने गरेको छ। अमेरिका र युरोपमा नै धेरै निर्यात हुने गरेको भट्टले बताए।

‘हामीले सबै ह्यान्डमेड सामान उत्पादन गर्छौँ, विदेशीले अर्डर दिएपछि मात्रै यता उत्पादन गरेर प्याकिङ गरेर पठाउने गरेका छौँ,’ भट्टले भने, 'नेपालमा यस्तो पनि उत्पादन पाइन्छ भनेर विदेशीहरू नै दंग हुने गरेका छन्। रेमिट्यान्सको भरमा चलिरहेको मुलुकमा केही लाखमात्रै पनि डलर भित्र्याउनु राज्यका लागि योगदान नै भएको छ।' 

भट्टले जस्तै व्यवसाय गर्नेहरू अरु पनि छन्। देशमा राम्रा उत्पादनहरू भएपनि विश्व बजारमा पुग्नुपर्ने जति पुग्न नसकेको भट्ट बताउँछन्। बजारको पहुँचका लागि राज्यले गर्नुपर्ने काम नगरेको उनको बुझाइ छ। उत्पादनको बजारीकरणलगायतका काममा सरकारको साथ मिले विश्व बजारमा अझ बलियो उपस्थिति देखाउन सकिने उनी बताउँछन्। 

bhatta garment (3).jpg

भट्टको उद्योगमा ज्याकेट, टिसर्ट, ब्याग, ट्राउजर सबै हातले नै बुनेर बनाउने गरिएको छ। कटनको कच्चा पदार्थमार्फत सामान उत्पादन गरिन्छ। आवश्यक कच्चा पदार्थ केही नेपालमा नै रहेका छन् भने केही भारतबाट पनि आउने गरेको छ। डिजाइनदेखि प्याकिङसम्मको सबै काम अर्डरअनुसार नै हुने गर्दछ। 

पछिल्लो समय रसिया र युक्रेन युद्धका कारण युरोपको बजारमा समस्या आएको भट्टले सुनाए। आफ्नो व्यवसायमा मात्र होइन नेपालको निर्यात व्यापारमा नै समस्या देखिएको उनले बताए। 'मसँगै यहाँ गार्मेन्ट उद्योग गरेका धेरै साथीहरू व्यवसाय छाडेर जाँदा पनि म टिकिरहन सकेँ। त्यसैले पनि कहिल्यै निराश हुन परेन' उनले भने।  

अहिले पनि उद्योग ४० प्रतिशत क्षमतामा मात्रै चलेको भट्ट बताउँछन्। डिमान्ड आउनेवित्तिकै थप ६० प्रतिशत बढाएर उत्पादन तेबर बनाउन सक्ने उनको भनाइ छ।

अहिले युवाहरू विदेश जाने लर्को लागेकोप्रति भट्ट चिन्ता व्यक्त गर्छन्। यहाँ राम्रै कमाइरहेकाहरू पनि विदेश जाने सोचले बाहिरिन थालेपछि उद्योगमा काम गर्नेहरू नै नपाइएला कि भन्ने चिन्ता सुनाउँछन् भट्ट। कामदार नपाएर उद्योग नै बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्दै उनी प्रश्न गर्छन्। 

bhatta garment (4).jpg

अहिले पनि आफूले नयाँ कामदार ल्याएर सिकाउँदै दक्ष बनाउने काम गरिरहेको भए पनि जनशक्ति अभाव हुने अवस्थातर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी भइसकेको उनी बताउँछन्। 'नेपालमा ठूला गार्मेन्ट उत्पादन गर्न सक्ने अवस्था अहिले छैन तर हाते बुनाका उत्पादनलाई धेरै मूल्यमा बिक्री गर्ने र विदेशी मुद्रा कमाउने बनाउन सकिने भएकोले सबैले यसमा ध्याउन दिनुपर्ने देखिन्छ' उनले भने।

'हाम्रो उत्पादनलाई बजारीकरण गर्न एउटा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीकक्षसम्म छैन। उत्पादनमा लाग्नेहरूलाई सकारात्मक ऊर्जा दिने काम सरकारी तबरबाट भएमा धेरै रोजगारी सिर्जना हुने अवस्था रहेको छ। जहाँ अर्बौँ लगानी पनि गर्नु पर्दैन तर उत्पादन गरेर भने अर्बौँ विदेशी मुद्रा नेपाल ल्याउन सकिन्छ' उनले भने। 

भिडियो हेर्नुहोस् -


प्रकाशित : बुधबार, मंसिर ५ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend