आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पोखराका प्रेमप्रसादको एकीकृत कृषि

आइतबार, मंसिर २ २०८१
पोखराका प्रेमप्रसादको एकीकृत कृषि

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए। त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए।

गण्डकी- पोखरा महानगरपालिका-२४ लौरुकका किसान प्रेम अधिकारीका फार्ममा उत्पादन भएका कृषिजन्य वस्तु लेकसाइड आसपासमा खरिद गर्नेको घुइँचो हुन्छ। बजार पुर्‍याइएका तरकारी बिक्री हुँदैन कि भन्ने उनलाई चिन्ता लाग्दैन।

प्रेमप्रसादले बजारमा जितिरहेको विश्वास उनको एकीकृत कृषिप्रतिको लगाव र मेहनत हो। पहिचान अर्गानिक कृषि फार्म सञ्चालन गरिरहेका अधिकारीले फार्ममा एकीकृत रूपमा पशुपालसँगै तरकारीखेती पनि गरिरहेका छन्।

गोठमा भैँसीपालन गरिरहेका अधिकारीले दैनिक ४५ लिटर दूध बेचिरहेका छन् भने तिनै भैँसीको मलले चारवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन्।

सुरुमा गाउँका स्थानीयको समेत दूध संकलन गरी सातसय लिटरसम्म बजारमा बिक्री गर्न लैजाने गरेको अधिकारीले बताए। फार्ममा पालिएका भैँसीको मल आफ्नै तरकारीखेतीमा प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिएको उनको भनाइ छ। उनले भने, 'विषादीरहित मल प्रयोग भएकाले उत्पादित तरकारीको माग पनि बजारमा बढी छ।'

आफ्नो जीवनकालमा विभिन्न अनुभव पनि सँगालेको बताउँदै अधिकारीले सन् २००० देखि २००५ सम्म कतारमा वैदेशिक रोजगारी गरेको जानकारी दिए। त्यसयता लेकसाइडमा होटेल सञ्चालन गरेका उनले २०७२ सालको भूकम्पपछि कृषितर्फ लागेको जानकारी दिए।

अर्गानिक खेतीका लागि चाहिने मल गोठबाट उपलब्ध हुने गरेको भन्दै अधिकारीले गोठमा अहिले १८ वटा भैँसी रहेका उल्लेख गरे। लोकल कुखुरापालन पनि गरिरहेका उनले बजारको मागअनुसार कृषिजन्य उत्पादन पुर्‍याउन नसकेको बताए। आफै बजारीकरणमा लाग्नुका साथै र परिवारका सदस्यले पनि सहयोग गर्दा काम गर्न सहज भएको अधिकारीको भनाइ छ।

व्यावसायिक कृषिमा परिवारजनबाट सहयोग पाएको बताउँदै उनले एकीकृत कृषिबाट जोकोही लाभान्वित हुनसक्ने अनुभव सुनाए। परिवारको सहयोगसँगै उनले अन्य दुई जनालाई दैनिक ज्यालादारीमा रोजगारीसमेत दिँदै आएका छन्।

'मेरो व्यावसायिक कृषिमा श्रीमती, छोराछोरी, आमा सबैको निरन्तर साथ र सहयोग छ', उनले भने, 'एकीकृत रूपमा पशुपालन र तरकारीखेती गरेकाले उपभोक्तालाई शुद्ध प्राङ्गारिक उत्पादन पुर्‍याउन सकेको छु।'

उत्पादित वस्तुको बजार लेकसाइड रहेको बताउँदै अधिकारीले धेरै उत्पादन हुँदा पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्स सहयोगी बन्ने उल्लेख गरे। सुरुमा १० लाख रूपैयाँबाट व्यावसायिक कृषिमा लगानी सुरु गरेको जनाउँदै उनले त्यसयता टनेल निर्माण, गोठलगायत पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको बताए। उत्पादित वस्तुको सहज बजारीकरणका साथै आम्दानी पनि प्रशस्तै भइरहेकाले सन्तुष्ट रहेको उनको भनाइ छ।

अघिल्लो वर्ष एक लाख रूपैयाँको साग, एक लाख रूपैयाँको काँक्रो बिक्री गरेको अधिकारीले जानकारी दिए। धनियाँ, गोलभेँडालगायत उत्पादनबाट पनि सोहीअनुसार फाइदा भएको उनले अनुभव सुनाए। गत वर्ष राँगा बिक्रीबाट सबै खर्च कटाएर एक लाख ५० हजार रूपैयाँ आम्दानी भएको उनले जानकारी दिए।

अधिकारीले गरेको एकीकृत कृषि अरुका लागि पनि अनुकरणीय भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए। 'पशुपालनसँगै तरकारीजन्य उत्पादन गर्दै आउनुभएका अधिकारीले एकीकृत रूपमा कृषिकर्म गर्नुभएको छ', उनले भने, 'घरमा पशु पालन भएकाले खेतबारीमा पशुमल प्रयोग भएकाले अर्गानिक तरकारी उत्पादनमा सहयोग पुगेको छ।'

'हाम्रो परिवेशमा एउटै किसानको सयौँ रोपनी जग्गा हुने अवस्था पनि छैन', कडरियाले भने, 'थोरै जग्गामा अधिकतम लाभ लिन अब अधिकारीले जस्तै अरुले पनि एकीकृत कृषि प्रणाली अपनाउनु जरुरी छ।' रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend