आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

शिक्षण पेसा छाडेर माछापालनबाट राम्रो आम्दानी गर्दै छन् घुर्सुवाका हरिराम

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २ २०८१
शिक्षण पेसा छाडेर माछापालनबाट राम्रो आम्दानी गर्दै छन् घुर्सुवाका हरिराम

हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन्। नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ।

कञ्चनपुर- वेदकोट नगरपालिका-६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन्। डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो। विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले।

माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे।  'सुरुवातमा बुबाले धानखेती हुँदै एक/दुई पोखरीमा माछा पाल्नुभयो, पछि विस्तार गरेर १० बिघा जमिनमै पोखरी निर्माण गरेर माछापालन विस्तार गरियो', हरिरामले भने।
 
विसं २०७२ मा बुबा चन्द्रलालको निधन भएपछि व्यवसायको बिडो थाम्ने जिम्मा छोरा हरिरामको काँधमा आयो। बुबा जीवित हुँदा शिक्षण पेसासँगै माछापालन सघाइरहेका उनी बुबाको निधनपछि भने शिक्षण पेसा छाडेर पूर्ण रूपमा माछापालनमा सक्रिय भए। माछापालनबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको हरिराम सुनाउँछन्।

'धान, गहुँखेतीभन्दा पनि माछापालनमा राम्रो आन्दानी छ', उनले भने, 'माछाको सङ्ख्याअनुसार आम्दानी हुन्छ। मैले वार्षिक ३० लाख लाखसम्म आम्दानी गर्ने गरेको छु।'

एक माछा एक किलोग्राम तौलको हुनका लागि एकदेखि सवा किलोग्रामसम्म दाना खपत हुने गरेको छ। दश बिघा जमिनमा रहेको पोखरीमा गरिएको माछापालनबाट वार्षिक सात-आठ सय क्विन्टल माछा उत्पादन हुने गरेको हरिराम बताउँछन्।

माछा स्थानीय बजारमै बिक्री गर्ने गरिन्छ। माछाको भुरा र दाना भारतबाट ल्याउने गरेको उनको भनाइ छ। हरिरामले स्थानीय दुई जनालाई माछापोखरीमा रोजगारी पनि दिएका छन्। नेपालमा गुणस्तरीय भुरा र दाना नपाइने हुनाले महँगो मूल्यमा भारतबाट ल्याउनुपर्ने बाध्यता छ। नेपाली बजारमा आउने भारतीय माछाका कारण पनि समस्या हुने गरेको उनले बताए।

हरिरामले माछापालनकै आम्दानीले छोराछोरीलाई पढाउन सहयोग मिलेको छ। उनकी छोरी हाल चिकित्सा शिक्षा पढिरहेकी छिन्। छोरी भूमिका कोहलपुर मेडिकल कलेजमा एमबीबीएसको अन्तिम वर्षमा अध्ययरत छिन्। छोरा काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेसन (एआई) अध्ययन गरिरहेका छन्।

'शिक्षण र माछापालनतिरै व्यस्त हुँदा सरकारी जागिरका लागि तयारी गर्नतर्फ लागिएन। तयारी गरेको भए सरकारी जागिरे भइन्थ्यो होला, पछि उमेर पनि पुग्यो। अहिले माछापालनबाट पनि राम्रै भएको छ', हरिरामले भने, 'सरकारी जागिरे नहुँदा पनि केही छैन। माछापालनले सन्तुष्टि दिलाएको छ।' रासस


प्रकाशित : आइतबार, मंसिर २ २०८१०९:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend