आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

बिहीबार , कात्तिक २९ २०८१
पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप

पाक्ने बेलाको सुन्तलामा औँसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्।

पर्वत- सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका-२ देउपुर, फलेवास नगरपालिका-१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका-३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ।

पाक्ने बेलाको सुन्तलामा औँसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताए।

देउपुरमा मात्रै तीनसयभन्दा बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन्। यो गाउँबाट गतवर्ष पाँच करोड रूपैयाँको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईँले जानकारी दिए। उनका अनुसार यसवर्ष ५० प्रतिशतभन्दा बढी बोटमा प्रकोप फैलिसकेको छ।

गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो। अर्का किसान लालु चापागाईँ कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताए। पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म बिक्रीका लागि लगिन्छ। यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन्।

कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ। केन्द्रका बाली संरक्षण अधिकृत शंकर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताए।

'मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,' उनले भने, 'अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो। अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ। समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ।' ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताए।

पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीनसय मिटर उचाइभन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भूमिराज शर्माले बताए। थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ।

झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताए।

सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो। गतवर्ष सुन्तला बिक्रीबाट २५ करोड रूपैयाँ जिल्लाका किसानले भित्र्याएका थिए। रासस


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend