शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा समानान्तरसहितको जेभीलाई, लागत १७ करोड ६ लाख

बुधबार, माघ ५ २०७८
ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा समानान्तरसहितको जेभीलाई, लागत  १७ करोड ६ लाख
सांकेतिक तस्बिर।

काठमाडौं- ललितपुरकाे ग्वार्काे चाेकमा ४ लेनकाे फ्लाइओभर बनाउने जिम्मा आशिष-समानान्तर-रेलिगर जेभीले पाएकाे छ।

सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले १७ कराेड ६ लाख रूपैयाँ काम गर्ने गरि समानान्तर सहितकाे जाेयन्ट भेन्चरसँग सम्झाैताका लागि भन्दै आश्यपत्र जारी गरेकाे छ। 

ललितपुरको ग्वार्काे चोकमा निर्माण हुने चार लेनको फ्लाइओभर बनाउन ८ कम्पनी प्राविधिक रुपमा छनोट भएका थिए। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले गत असारमा मागेको बोलपत्रमा ९ कम्पनीले आवेदन दिएका थिए। तिनै ९ कम्पनी मध्ये ८ कम्पनी प्राविधिक रुपमा योग्य ठहर भएका थिए।

फ्लाइओभर निर्माणका लागि एमआर हिम सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामागोल्डेन गुड जेभी, सूर्यर भ्याली र विकास र ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनकर श्रेष्ठ जेभी, तुन्दी र रसुवार रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर-रेलिगर जेभीले आवेदन दिएका थिए। 

यी मध्ये केन्द्रले शर्मा एन्ड कम्पनी, सुर्य-भ्याली-विकास एन्ड ब्रदर्स जेभी, एएनके-श्रेष्ठ जोइन्ट भेन्जर, तुँदी-रसुवा-रोशन जेभी, कालिक कन्स्ट्रकसन, आशिष-समानान्तर-रेलिगर जेभी र एमआर-हिम सगरमाथा जेभी र इलाइट कन्स्ट्रक्सन प्राविधिक रुपमा फ्लाइओभर बनाउन योग्य देखिएका थिए। 

अहिले यिनै ८ कम्पनीबाट आर्थिक प्रतिस्पर्धा गराएर ठेक्का सम्झाैताका लागि सूचना जारी गरिएकाे विभागकाे भनाइ छ।

चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथ पहिलो खण्ड कोटेश्वर-कलंकी ८ लेनको बनाउँदा समेत फ्लाइओभरको परिकल्पना गरिएको थियो। करिब १० किलोमिटर सडकको मुख्य जाम हुने तीनवटा चोकमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको थियो। 

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना बनाएको छ।

केन्द्रले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण अघि बढाएको हो। आफैले प्रारम्भिक सर्भे गरेर त्यसलाइ बेसलाइन मान्दै ईपीसी मोडलमा ठेक्का निकालिएको हो। यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै काम निर्माण कम्पनीले नै गर्नेछ। 

ठेक्का पाउने कम्पनीले दुई वर्षमा फ्लाइओभर निर्माण सकेर हस्तान्तरण गरिसक्नु पर्ने छ। ग्वार्काे चोकमा निर्माण हुने फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ। 

फ्लाइओभरको कुल लम्बाई ४५५ मिटर हुनेछ। जसमा बालकुमारीतिरबाट २८० मिटरसम्म माथि उक्लदै बीचमा निर्माण हुने पुल ३५ मिटर सडकमाथि हुनेछ। उक्त पुलसँग जोडिन सातदोबाटोतिर १७५ मिटर लामो सडकमाथि उक्लिएको संरचना निर्माण हुनेछ। फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ।

बालकुमारीतिरबाट सातदोबाटोतर्फ फ्लाइओभर निर्माण भएपछि इमाडोलतिरबाट पाटनतिर जाने सवारीसाधन फ्लाइओभरकै मुनि (अहिले भएको चक्रपथ) बाट पास हुनेछ। अर्थ मन्त्रालयले फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको थियो।


प्रकाशित : बुधबार, माघ ५ २०७८०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend