आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

ग्रेडिङ नहुँदै एकसय रूपैयाँभन्दा बढी मूल्य पाएपछि म्यागङका किसानले टिप्नथाले सुन्तला

आइतबार, कात्तिक २५ २०८१
ग्रेडिङ नहुँदै एकसय रूपैयाँभन्दा बढी मूल्य पाएपछि म्यागङका किसानले टिप्नथाले सुन्तला

पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्‍याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए।

नुवाकोट- सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन्। सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो एकसय रूपैयाँभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन्।

विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ-२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए। उनले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिए।

गत वर्ष प्रतिकिलो ८० रूपैयाँमा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एकसय रूपैयाँभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताए। 'व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन', उनले भने, 'गत वर्षभन्दा बढी मूल्य पाएका छौँ। यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ।'

म्यागङ-२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो। पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्‍याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए।

'विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरु किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो। पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाँउ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ', उनले भने।

सुन्तला यहाँको पहिचान बन्नुका साथै उत्पादन वृद्धि भइरहेकाले गाँउपालिकाले व्यावसायिक खेतीलाई जोड दिँदै आएको उपाध्यक्ष सीता तामाङले बताए। उनका अनुसार म्यागङ-२ बुङ्ताङ, वडा नं ४ किम्ताङ, वडा नं ५ र ६ सामरीका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आइरहेका छन्।

कम लगानीमा बढी आम्दानी हुने भएकाले यहाँका किसानले अहिले धान लगाउने खेतमा सुन्तलाको व्यावसायिक उत्पादन सुरु गरेका उपाध्यक्ष तामाङले बताए। किसानलाई गाँउपालिकाले निःशुल्क तथा सहुलियत शुल्कमा बिरुवा उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान, तालिम, बजारीकरणलगायत क्षत्रमा सहयोग गर्दै आएको उनले जानकारी दिए।

उपाध्यक्ष तामाङका अनुसार पालिकामा क्रमशः सम्भाव्यता देखिएका अन्य क्षेत्रमा पनि सुन्तलाखेतीको विस्तार गर्ने योजना रहेको छ। एक पटकको लगानी र मुख्य मौसममा गरिने हेरचाहबाट राम्रो उत्पादन लिन सकिने भएकाले जिल्लाको म्यागङसहित आसपासका क्षेत्रमा सुन्तलाखेती विस्तार हुँदै गएको उनले उल्लेख गरे।

हरेक वर्ष खेती र उत्पादन वृद्धि हुँदै गएको यहाँको सुन्तलाले जिल्लाको मागसहित काठमाडौं, पोखरालगायत सहरको माग पनि धानिरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend