आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

२५ लाख लगानी गरेर कालिज पालनमा रमाउँदै चुडामणी, वार्षिक १२ लाख रुपैयाँको कालिज बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २३ २०८१
२५ लाख लगानी गरेर कालिज पालनमा रमाउँदै चुडामणी, वार्षिक १२ लाख रुपैयाँको कालिज बिक्री

११ वर्षअगाडि सरकारी सेवामा प्रवेश गरेका चुडामणिले विसं. २०७५ सालदेखि कालिज पालन गर्न थालेका हुन्। सुरुमा काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज लिएर सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ।

बागलुङ- बुर्तिबाङ बजारदेखि अर्नाकोट जाने सडकछेउमा फलामे जालीले ठूलो क्षेत्र घेरिएको छ। चारैतिर जालीले घेरिएको बारीमा सयौँको संख्यामा कालिज (वन कुखुरा) देखिन्छन्। सडकमा यात्रा गर्ने जोकोही एकै छिन रोकिएर कालिज नियाल्छन्। साना ठूला रहर लाग्दा कालिजले धेरैलाई आकर्षित छन्। 

वन जंगलमा जाँदा भेटिने कालिज घरमै देख्दा अचम्म लाग्नु स्वभाविक नै हो। ढोरपाटन नगरपालिका-२ सलामकोटका चुडामणी कँडेलले गएको ६ वर्षदेखि यहाँ कालिज पाल्न थालेका हुन्।

पेसाले स्वास्थ्यकर्मी रहेका कँडेलले दिउसोको समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरे पनि बिहान बेलुका कालिजको स्याहार सुसार गर्दै आएका छन्।

११ वर्षअगाडि सरकारी सेवामा प्रवेश गरेका चुडामणिले विसं. २०७५ सालदेखि कालिज पालन गर्न थालेका हुन्। सुरुमा काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज लिएर सुरु गरेको व्यवसाय अहिले फस्टाउँदै गएको छ। 

२४ हजार रुपैयाँमा चार कालिज लिएर थालेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुची राख्ने कँडेलले कालिज पालन थालेपछि अवलोकनका लागि सयौँ मान्छे फर्ममा पुग्ने गर्छन्। 

कँडेलले ६ वर्षअगाडि ‘सानो स्वर्ग’ नामको फर्म दर्ता गरेर व्यवसायिक रुपमा कालिज पाल्न थालेका हुन्। रुचीले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन्।

कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौंसम्म पुग्ने गरेका छन्। भाले कालिजलाई २ हजार ५ सय रुपैयाँ र पोथी कालिजलाई १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्। वार्षिक १२ लाखको कालिज बिक्री हुने गरेको छ। 

कालिज पालनको सुरुवातमा एकैपटक ५ सयवटा कालिज मरेपछि लाखौँ रुपैयाँ नोक्सान व्यहोर्नु परे पनि सरकारी निकायबाट सहयोग पाएनन्। राज्यबाट अनुदान र तालिम पाउन सके अझै राम्रो गर्ने सोचमा उनी छन्।

पछिल्लो समय कालिज हेर्नका लागि धेरै मान्छेहरु आउने गर्छन्। कालिजले अझ सहज बजार पाउन सके आम्दानी पनि बढ्ने उनको आँकलन छ। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २३ २०८११७:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend