आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तरकारी खेतीबाट स्वरोजगार बनेका चन्द्रबहादुर, एकैयाममा चार लाखभन्दा बढी कमाउँछन्

बुधबार, कात्तिक २१ २०८१
तरकारी खेतीबाट स्वरोजगार बनेका चन्द्रबहादुर, एकैयाममा चार लाखभन्दा बढी कमाउँछन्

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ रोहोटेका चन्द्रबहादुर घिमिरे तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन्। गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौँतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन्।

आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन्।

'जहाँ भएपनि काम नगरी सुःख पाइँदैन,' उनले भने, 'बिचौलियालाई लाखौँ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नंग्रा खियाउँदा सन्तुष्टि मिल्दो रहेछ।' 

पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन्। काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा चार लाख रूपैयाँभन्दा बढी कमाइ हुने बताए।

अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। उनले गोलभेँडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन्।

घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन्। छोरालाई उच्च शिक्षा पढाउन र घरव्यवहार चलाउन तरकारी खेतीले सहज भएको घिमिरेले बताए।

कृषि ज्ञान केन्द्रले हाइटेक प्रविधिको टनेल स्थापना गर्न सहयोग गरेको छ। केन्द्रका प्रमुख सञ्जिव बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशील र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउँछन्।

बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कँदै गरेका रुखको ओसेप घिमिरेको व्यावसायिक तरकारी खेतीका लागि चुनौती बनेको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend