आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सरकारी जागिरसँगै कालिजपालनमा सलामकोटका चुडामणि, २४ हजारबाट थालिएको व्यवसायमा २५ लाख पुग्यो लगानी

मंगलबार, कात्तिक २० २०८१
सरकारी जागिरसँगै कालिजपालनमा सलामकोटका चुडामणि, २४ हजारबाट थालिएको व्यवसायमा २५ लाख पुग्यो लगानी

२४ हजार रूपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेका छन्।

बागलुङ- यहाँको ढोरपाटन नगरपालिका-२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरेका छन्।

पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्। उनी कार्यालयबाहेकका समय कालिज फार्ममा खटिन्छन्। कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए। २४ हजार रूपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेका छन्।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन्। रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रुप लिएपछि उनी दंग छन्। कँडेलले ६ वर्षअगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका हुन्। सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन्। चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए।

'केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चारवटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइनँ', उनले भने, 'पछि ती चल्ला हुर्केर दुईसय अण्डा दिए, त्यस पछि व्यावसायिक गर्नुपर्छ कि भन्ने सोच आयो। रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो।'

कोभिड-१९को महामारीका बेला एकैपटक पाँचसय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नुपर्‍यो। फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए। कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौंसम्म पुग्ने गरेका छन्। भाले कालिजलाई दुई हजार पाँचसय रूपैयाँ र पोथी कालिजलाई एक हजार पाँचसय रूपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन्। दसैँमा तीनसय वटा कालिज बिक्री भयो। हाल फार्ममा सात सय कालिज छन्। वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए।

एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ। उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २० २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend