आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तिहारमा एउटै फार्मबाट दुई लाख रुपैयाँको फूल बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १९ २०८१
तिहारमा एउटै फार्मबाट दुई लाख रुपैयाँको फूल बिक्री

यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ। स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ।

पाल्पा- पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख रुपैयाँभन्दा बढीको आम्दानी भएको छ। तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो।

फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए।

तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए। बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापाले बताए।

बारीभरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ। फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दै आएको थापाको भनाइ छ।

प्रतिकिलो फूल पाँच सय रुपैयाँ र प्रतिमाला एक सय ५० रुपैयाँमा बिक्री भएको थापाले बताए। हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ।

यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ। स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ। गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घसंस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ। 

भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन्। यहाँ हरेक वर्ष दुई लाखदेखि तीन लाख रुपैयाँ बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए। रासस


प्रकाशित : सोमबार, कात्तिक १९ २०८११७:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend