शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

गाउँपालिकाद्वारा कृषकलाई दुधमा अनुदान

मंगलबार, माघ ४ २०७८
गाउँपालिकाद्वारा कृषकलाई दुधमा अनुदान

गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख लिटर दुधमा अनुदान दिनका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए।

कास्की- कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दुधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ। उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा २५ लाख लिटर दुधमा अनुदान दिनका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार गाउँपालिकाभित्र रहेका छ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ। कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेका आधारमा दुधमा अनुदान पाउनेछन्। जसले धेरै उत्पादन गर्न सक्छ, उसैले बढी अनुदान पाउनेछ उनले भने। 

अनुदान वितरण गर्नका लागि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको र छनोट गरिएकाले वितरण तत्कालै सुरु गरिने पौडेलले बताए। सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दुध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन्। सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ। 

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा केन्द्रित हुने हुँदा व्यावसायिक उत्पादनको विकास हुने विश्वास गाउँपालिकाको छ। माछापुच्छ्रे गाउँपालिका जिल्लामै दुध उत्पादनमा अग्रणी स्थानमा छ। नौ वडा रहेकामा यहाँका अधिकांश वडामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ।
 
मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दुध उत्पादन बढी हुने गरेको छ। गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दुध बिक्री हुने शाखाको तथ्यांक छ। यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दुध बिक्री हुने गरेको छ।  हालसम्म  गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन्।

गाउँपालिकाले चालु आवमा पशु सेवातर्फ यान्त्रिकीकरण कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा घाँस काट्ने मेसिन कृषकलाई उपलब्ध गराउने भएको छ। यसका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ।

यसैगरी पशु रोग नियन्त्रण र स्वास्थ्य शिविर तथा औषधि खरिद गरी कृषकलाई निःशुल्क वितरण गर्न १० लाख बजेटबाट औषधि खरिद प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ। यसै वर्षमा गाईको बाँझोपन निवारणका लागि शिविर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ । रासस


प्रकाशित : मंगलबार, माघ ४ २०७८०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend