आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

बुधबार, कात्तिक १४ २०८१
किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ। बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन्।

कञ्चनपुर- कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ। तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानीलगायतका तरकारी रोपिएको छ। केही तरकारी क्यारी बनाएर रोपिएका छन्।

केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन्। उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन्। घारमा मौरीपालन गरिएको छ। बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ।

नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन्।

व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए।

'करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन्', उनले भने, 'किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ।'

पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उनको भनाइ छ।

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताए।

मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ। यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ। मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ।

कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ। बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन्। किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्षरुपमा अवलोकन गराइने गरिएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend