काठमाडौं- मोटर भेहिकल दुनियाँमा पश्चिमा र जापानी कम्पनीहरूको दबदबा रह्यो दशकौँसम्म। जुन स्तरको सवारी इन्जिन चीन बाहेकको विश्वले बनाउन सक्यो चीन आफैँले सक्दै सकेन।
बिसौँ सताब्दीभर र एक्काइसौँ सताब्दीको पहिलो दशकसम्म पनि चीनले जापानी र पश्चिमा सवारी उत्पादकसँगको आन्तरिक बजारमा गरेको साझेदारीबाट पनि सवारी इन्जिनमा आफूलाई अब्बल बनाउन सकेन। यतिबेलासम्म आइपुग्दा विश्वले सवारीसाधनले गर्ने प्रदूषणको दर अधिक भएको निष्कर्ष निकालेर वैकल्पिक उर्जाबाट उल्ने सवारीतर्फ लाग्नु पर्ने र लाग्ने ठहर गरिसकेको थियो।
आईसी इन्जिनमा आफ्नोपन नभेटेपछि र प्रदूषणको दर न्यून गर्नुपर्ने दोहोरो दबाबमा रहेको चीनले न्यू इनर्जी भेहिकत अर्थात ब्याट्रीमा आधारित विद्युतीय कारको विकासमा ठूलो लगानी र जनशक्ति लगायो। २०१८ तिरबाट त्यसको परिणाम चाख्न सुरु गरेको चीनले २०२० पछाडि सिंगो विश्वलाई नै त्यसको स्वाद चखाउन सुरु गर्यो।
२०२४ को अन्त्यतिर आइपुग्दा विद्युतीय सवारीमा अन्य प्रतिपर्धीको ईभी मूल्यका हिसाबले खारिलो हुँदा चिनियाँ उत्पादकले सबैले रुचाउने अवस्था बनाइसकेको छ। त्यसैले विद्युतीय सवारीमा पश्चिमा वा जापानी सवारी उत्पादकले चिनियाँसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे पर्ने अवस्था आइसकेको छ।
यसको पछिल्लो उदाहरणको रुपमा जर्मन सवारी उत्पादक मर्सिडिज बेन्ज ग्रुप एजीले चीन तथा अन्य देशमा आफ्ना बिक्री र नाफा दुबै गुमाउँदै गएको छ। विशेषगरी चीनको विलासी कार बजारमा पश्चिमा कार उत्पादकहरूको दबदबा थियो। जब विद्युतीय कारमा चीनले तरक्की गर्यो तत्पश्चिात तिनै विद्युतीय कार ‘लक्जरी’ भएर आइरहेका छन्। यसले मर्सिडिज, पोर्सा, अउडी, बीएमडब्लूलगायत पश्चिमा विलासी कार उत्पादकहरू चीनसँग अन्य विश्व बजारमा प्रभावित हुँदै गइरहेका छन्।
‘मेड इन चाइना’ सिम्बोलसहित विलासी कार बजारमा बीवाईडी, चेरी, चांगललगायत ब्रान्डले विद्युतीय कारमार्फत आफूलाई चीनमा मात्र होइन विश्वभर उभ्याउन सुरु गरेका छन्। बीवाईडी, चेरी, चांगललगायत ब्रान्डको युरोप प्रवेशले मर्सिडिज, पोर्सा, बीएमडब्लूलाई आफ्नै घर युरोपमा समेत दबाब सृजना गरिसकेको छ।
हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार २०२१ को पुनर्संरचना पश्चिात मर्सिडिज बेन्जले पहिलो पटक सबैभन्दा कम नाफा आर्जन गरेको टाइम्स अफ इन्डियाले लेखेको छ। चिनियाँ बजारमा उनीहरूको कारको माग कम हुँदा मर्सिडिजले जस्तै समस्या पोर्साले पनि बेहोरेको हो। विगतमा विलासी ब्रान्डका लागि चिनियाँ बजार सुनिश्चित जस्तै थियो। तर अहिले अवस्था बदलिएको र १२ खर्ब अमेरिकी डलर बराबरको विश्वको विलासी कार बजार संकटोन्मुख बनेको पश्चिमा विश्लेषकहरूको भनाइ छ।
एनआईओ इंक, बीवाईडी साओमी कर्प, चांगन, चेरीलगायत ब्रान्डको प्रवेशले युरोपेली कार उत्पादकका लागि आन्तरिक बजार नै कष्टपूर्ण हुने देखिइसकेको छ।
चिनियाँ कार उत्पादकले कम मूल्यमै कार उपलब्ध गराउँदा पश्चिमा कार उत्पादकले प्रतिस्पर्धा गर्ने नसक्ने अवस्था आएको छ। ईभी ब्याट्री र प्रविधिमा चिनियाँहरूसँग प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार ल्याउन पश्चिमा कार उत्पादकका लागि तत्काललाई असम्भवप्रायः छ।