आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

मंगलबार, कात्तिक १३ २०८१
दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रूपैयाँ एकै गाउँका किसानले कमाउन सफल भएका छन्।

चौतारा- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन्। घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रूपैयाँ एकै गाउँका किसानले कमाउन सफल भएका छन्।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५ सय १७ लिटर दूध बेचेर आठ लाख १२ हजार ४ सय ५५ कमाउन सफल भए। सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान छन्। एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३ सय २० रूपैयाँ कमाउन उनी सफल भएका छन्।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्ने किसानमा पर्छन्। तोयानाथले एक वर्षमा आठ हजार ५ सय ४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४ सय ४३ रूपैयाँ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७ सय रूपैयाँ हात पारेका छन्।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १ सय ६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार रूपैयाँ गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए।

चार सय ४८ सेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ। संस्थामा एक करोड २३ लाख १० हजार रूपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार रूपैयाँ ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend