आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

धान उत्पादनको तथ्यांक लिन चितवनमा थालियो 'क्रप कटिङ'

सोमबार, कात्तिक १२ २०८१
धान उत्पादनको तथ्यांक लिन चितवनमा थालियो 'क्रप कटिङ'

गतवर्ष २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एकसय ९० मेट्रिकटन उत्पादन भएको थियो।

चितवन- यहाँ लगाइएको बर्खे धानको उत्पादन/उत्पादकत्व अनुमान तथा तथ्यांक लिन क्रप कटिङ (बाली कटानी) सुरु गरिएको छ। कृषि विकास कार्यालय चितवनले विभिन्न स्थानमा लगाइएको धानको उत्पादन अनुमान गर्न क्रप कटिङ सुरु गरेको हो।

पूर्वी चितवनमा क्रप कटिङको काम सकिएको र पश्चिम चितवनको भरतपुर तथा माडीमा एक, दुई दिनमा सकिने कार्यालय प्रमुख झलकनाथ कँडेलले जानकारी दिए।

धानको प्रत्येक १० वर्गमिटर क्षेत्रफलमा क्रप कटिङ गरी उत्पादन अनुमान गरिने उनले बताए। कँडेलले भने, 'यसवर्ष हामीले समग्र जिल्लामा गत वर्षको भन्दा बढी धान उत्पादन हुने अनुमान गरेका छौँ तर धान लगाउने समयमा मौसम अनुकूल भए पनि पाक्ने बेलामा केही समय मौसम प्रतिकुल र धानमा डटी प्यानिकललगायत रोगका कारण केही समस्या नभएको छ।'

उनले अनुमानभन्दा केही उत्पादन घटे पनि धेरै घाटा भने नहुने अपेक्षा रहेको बताए। 'प्रतिहेक्टर चार मेट्रिकटन अलि पुगेको छैन तर औसतमा प्रतिहेक्टर चार मेट्रिकटनकै हाराहीमा उत्पादन अनुमान गर्न सकिन्छ', कार्यालय प्रमुख कँडेलले भने, 'पूर्वी चितवनमा केही उत्पादन घटेको हामीले पाएका छौँ। सबै स्थानमा क्रप कटिङ गरी तथ्यांक लिएपछि उत्पादनबारे थाहा हुनेछ।'

कार्यालयका अनुसार जिल्लामा यसवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ। यहाँ सावित्री, सावा मन्सुली, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकाबिला, महाराजा, काशिनाथलगायत धान लगाइएको छ।

गत वर्ष २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा एक लाख १२ हजार एकसय ९० मेट्रिकटन उत्पादन भएको थियो। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend