आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा

आइतबार, कात्तिक ११ २०८१
दाङका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अपेक्षा
फाइल तस्बिर

दसैँअगावै यहाँका केही स्थानमा किसानले धान काट्न सुरु गरे पनि अहिले सबै ठाउँमा किसानलाई धान काट्न चटारो परेको छ।

दाङ- जिल्लाको दङ्गीशरण गाउँपालिका-३ का ६२ वर्षीय शोभा जैसी शुक्रबार बिहान ७ बजे धान काट्दै थिइन्। उनले भनिन्, 'अहिले तिहार नजिकै भए पनि खेतमा धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै हुने गरेका छौँ।'

उनले थपिन्, 'यस वर्ष समयमै वर्षा भएपछि रोपाइँ पनि समयमै गर्न पाइएको थियो। धानखेती राम्रो भएको छ, उत्पादन बढ्नेमा ढुक्क छौँ। बाली भित्र्याउन नपाउँदै वर्षा भएमा ठूलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म धान काट्न व्यस्त छौँ।'

शोभामात्र होइन अहिले जिल्लाका अधिकांश क्षेत्रका किसान बिहानदेखि बेलुकासम्म आफ्नो खेतमा लगाएको धान काट्न व्यस्त देखिन्छन्। दसैँअगावै यहाँका केही स्थानमा किसानले धान काट्न सुरु गरे पनि अहिले सबै ठाउँमा किसानलाई धान काट्न चटारो परेको छ।

बिहान ७ बजे नै खेतमा धान काट्न आउने गरेको र बेलुका ५ बजे मात्र घर फर्कने गरेको बताउँछिन् सोही गाउँकी सावित्रा भण्डारी। उनी भन्छिन्, 'मौसम परिवर्तन भएपछि पाकेको धान बिग्रिन्छ, त्यसैले अहिले तिहारको तयारी नगरेर धान काट्न व्यस्त छौँ। विशेष गरेर दाङको देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले त्यहाँ किसानले धान काटेर दाईँ गरी रहेका छन् भने अन्य स्थानमा किसान धान काट्न व्यस्त छन्।'

यसपाली धानखेतीका लागि आवश्यकपर्ने मलखादको समस्या नहुँदा र समयमै वर्षा पर्याप्त भएकाले उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताए।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा-४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस तीनसय १२, लगायत वर्णशंकर जातका धान लगाएका छन्। कम पानी हुने ठाउँमा सुक्खा १, सुक्खा २, सुक्खा ३ जातको धान लगाइएको छ।

जिल्लाको ३९ हजार चारसय हेक्टरमा धानखेतीका लागि उपयुक्त भए पनि किसान केही जमिनमा बाह्रैमासे तरकारीखेती गर्ने गरेकाले जिल्लामा यस वर्ष ३७ हजार दुईसय २५ हेक्टर जमिनमा धान लगाइएको ज्ञान केन्द्रले जनाएको छ।

गत वर्ष दाङमा ३५ हजार तीनसय २८ हेक्टर जमिनमा धान लगाइएकामा एक लाख ४४ हजार दुई सय ६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८११४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend