सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

बाढीपहिरोबाट काभ्रेमा सञ्चालित एकसय खानेपानी आयोजनामा एक अर्ब बराबरको क्षति

images
बुधबार, कात्तिक ७ २०८१
images
images
बाढीपहिरोबाट काभ्रेमा सञ्चालित एकसय खानेपानी आयोजनामा एक अर्ब बराबरको क्षति

जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ।

images
images

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एकसय खानेपानीका आयोजनामा क्षति पुगेको छ। हालसम्म प्राप्त क्षतिको विवरणअनुसार जिल्लामा मात्र एक अर्ब रूपैयाँको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

images
images

कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाधीनलगायत खानेपानी आयोजनामा क्षति पुगेको हो। जिल्लामा सञ्चालनमा रहेका दुई र निर्माणाधीन अवस्थाका सात योजनामा क्षति पुगेको जनाइएको छ।

images
images

कार्यालयका निमित्त प्रमुख इन्जिनियर दिलीप कुमारका अनुसार बाढीपहिरोले लिफ्ट तथा ग्राभिटी खानेपानी आयोजनामा क्षति पुगेको छ। 'बाढीपहिरोका कारण क्षति पुगेका खानेपानी आयोजनाको तथ्यांक आउने क्रम जारी छ, काभ्रेमा एक सयभन्दा बढी आयोजनामा क्षति पुगेको अनुमान गरेका छौँ', उनले भने। उनका अनुसार सबै स्थानीय तहलाई खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण पठाउन टेलिफोन तथा पत्रको माध्यमबाट अनुरोध गरिएको छ। 

images
images
images

कार्यालयले काभ्रेको भुम्लु बृहत् खानेपानी, कटुन्जे लिफ्टिङ, सीताघारी खानेपानी, रोशी औद्योगिक ग्राम र कालढुंगा बजार व्यवस्थित खानेपानी आयोजना, भूमिडाँडा बृहत् खानेपानी आयोजना, भदौरेछाप-फेट्टार-मुकुटार-सिहाले, बकुलछार-फलाङ्गे बृहत् खानेपानी, इन्द्रावती कोलाचौर लिफ्ट खानेपानी, भुम्लु सापिङ खानेपानीलगायतका योजनाको क्षतिको विवरण प्राप्त भएको जनाएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद श्रेष्ठले बाढीपहिरोबाट काभ्रेको सञ्चालनमा रहेको तिमाल बृहत् (सुक्खा क्षेत्र) खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुग्दा आठ हजार तीन सय ७३ घरपरिवार र चौँरीखोला-ढोकेडाँडा खानेपानी आयोजनामा क्षति हुँदा एक हजार नौ सय तीन घरपरिवार खानेपानीको सुविधाबाट वञ्चित भएको जानकारी दिए।

उनका अनुसार बाढीपहिरोबाट जिल्लामा निर्माणाधीन भकुन्डेबेँसी-खनालथोक-खाक्सी-दाप्चा क्षेत्र बृहत् खानेपानी, काशीखण्ड बृहत् खानेपानी, नमोबुद्ध बृहत् खानेपानी, पनौती बसपार्क गुणस्तर खानेपानी, सुनकोशी कोशीदेखा खानेपानी गुणस्तर सुधार आयोजना, साँगा बृहत् खानेपानी आयोजना र पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनामा क्षति पुगेको छ। 

यसैगरी, बाढीपहिरोबाट खानेपानी आयोजनाको पाइपलाइन, सम्पवेल, विद्युत् ट्रान्सफर्मर, पाइपलाइन, पानी संकलन ट्यांकीलगायतमा क्षति भएको विवरण प्राप्त भएको कार्यालयले जनाएको छ।

बाढीपहिरोका कारण सञ्चालनमा रहेको धुलिखेल खानेपानी, निर्माणाधीन पाँचखाल बृहत् खानेपानी आयोजना तथा सञ्चालनको अन्तिम तयारीमा पुगेको काभ्रे उपत्यका (तीन नगर समेटिएको)एकीकृत खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ। उक्त एकीकृत खानेपानीको मात्रै १० करोड रूपैयाँभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ।

पाँचखाल बृहत् खानेपानी आयोजनाका आयोजना प्रमुख इन्द्रमानसिं बस्नेतका अनुसार बाढीपहिरोबाट सुनकोशी नदीमा रहेको इन्टेकमा लेदो जमेको, करिब दुई किलोमिटर खानेपानीको पाइपलाइन, १२ वटा बिजुली पोल, खानेपानीको करिब दुई किलोमिटर हाइटेन्सन तार, खानेपानीको ट्यांकी, इन्टेकको कम्पाउन्ड पर्खाल, तारबार र ग्याबिन पर्खालमा क्षति पुगेको छ। उनले उक्त निर्माणाधीन खानेपानी आयोजनाको मर्मत एवं बाँकी काम सम्पन्न गर्न ६ महिनाभन्दा बढी समय लाग्ने बताए।

यसैबीच, काभ्रे सदरमुकाम धुलिखेलमा खानेपानीको समस्या हुन थालेको छ। बाढीपहिरोले धुलिखेलमा सञ्चालित खानेपानीको मुहानमा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दालगायत काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, ७५ भन्दा धेरै होटल तथा रेस्टुरेन्ट, करिब चार दर्जन सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक तथा प्रदेश एवं क्षेत्रीयस्तरका सुरक्षाका कार्यालयका खानेपानीको अभाव हुन थालेको बताइएको छ।

धुलिखेल खानेपानी आयोजनाको करिब चार किलोमिटर क्षेत्रमा पाइप बगाउनाका साथै पानी ट्यांकी र इन्टेकहरुमा समेत क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ। समितिका अनुसार आयोजनामा दुई करोड चार लाख रूपैयाँको क्षति भएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend