आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

मेची भन्सारबाट चिया निर्यात बढ्यो, अलैँची घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
मेची भन्सारबाट चिया निर्यात बढ्यो, अलैँची घट्यो

चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ।

झापा- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो। 

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए।

चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ। आव २०८०/८१ को सोही अवधिमा एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो। 

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए।

चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ।
 
कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ। चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ। आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो।
 
कार्यालयको तथ्यांकअनुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश. २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ। यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ। रासस


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend