आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १ २०८१
सावित्री र सावा मनसुली जातका धानमा ‘डटी पेनिकल’ समस्या

धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने हुन्छ।

चितवन- जिल्लामा लगाइएको धानमा ‘डर्टी पानिकल’ नामक रोगको समस्या देखिएको छ। पूर्वी चितवन र पश्चिम चितवनका विभिन्न स्थानमा लगाइएको सावित्री र सावा मनसुली धानमा यो समस्या देखिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाका अनुसार एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको हो।

उनले भने, 'यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ। पुराना जातमा यो रोगको समस्या देखिएको हो।'

यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उनले बताए। उनका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा चार हजार पाँच सय टन उत्पादन घट्ने अनुमान गरिएको छ।

उनले भने, 'धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ । सावित्री र सावा मनसुली धान लगाएका क्षेत्रमा ८० प्रतिशत घाटा हुने देखिन्छ।' भारतबाट आयातीत मुकावुला धानको बीउमा समेत यो समस्या देखिएको उनले बताए।

यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र नुन पानीले उपचार गरेर राख्नुपर्ने सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए। धानमा यो रोग देखिएमा फुल खेल्ने समयमा कप्पर अक्सिक्लोराइड र कार्बनाडेजिङ नामक विषादी दुई ग्राम प्रतिलिटर पानीमा हालेर एक हेक्टर क्षेत्रफलमा तीन सय लिटर छर्नुपर्ने उनले बताए।

यो औषधि छरेको एक सातापछि पोपेकोनाजोल नामक विषादी प्रतिलिटर पानीमा एक मिलिलिटर मिसाएर प्रतिहेक्टर तीन सय लिटर पानीको प्रयोग गर्नुपर्ने उनले सुझाव दिए।

जिल्लामा २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको छ। जहाँ, चैते ५, हर्दीनाथ ६, बहुगुणी १ र २, मनकामना, गङ्गोत्री, गङ्गाकावेरी, जेरी, ओआर, कतर्नी, मुकागोला, महाराजा, काशिनाथलगायत धानहरु लगाइएको उनले जानकारी दिए। रासस  


प्रकाशित : बिहीबार , कात्तिक १ २०८११३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend