आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

तरकारीको बेर्ना बेचेर राम्रो आम्दानी गरिरहेका छन् बिनोद

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
तरकारीको बेर्ना बेचेर राम्रो आम्दानी गरिरहेका छन् बिनोद

'तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ, आधाभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ।'

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन्।

तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन्।

भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थालेका हुन्। पाँच वर्षदेखि उनी यस कार्यमा संलग्न रहँदै आएका छन्। गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका थिए। यस वर्ष लगातार वर्षा हुँदा नर्सरीमा १५ हजार मात्र बिरुवा बिक्री भएको रानाले बताए। 

'तरकारीका बिरुवा बिक्रीबाट एउटा याममा दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ', उनले भने 'आधीभन्दा बढी बिरुवा नर्सरीबाटै बिक्री हुन्छ।' बिरुवा बिक्री गर्न साइकलमा गाउँ गाउँसम्म पुग्ने गरेको उनले बताए। 

अन्य तरकारीका बिरुवा बिक्री गरेपछि प्याजको बेर्ना तयार गर्ने रानाले बताए। तरकारी र प्याजका बिरुवा खरिद गर्नेहरु अधिकांश व्यवसायीकरुपमा तरकारी खेती गर्ने किसान रहेका छन्। तरकारी र प्याजका बिरुवा तयार गर्न बीउ खरिद, प्लाष्टिक खरिद गर्न तथा खनजोत गर्न एक लाखसम्म खर्च हुने उनको भनाइ छ।

नर्सरीमा बिरुवा हुर्काउन घरमै गाइगोरुको मलमुत्रबाट तयार गरिएको प्राङ्गारीक मल र जैविक विषादीको प्रयोग गर्ने गरेको राना बताउँछन्। तरकारी र प्याजका बिरुवा बिक्री गरेर प्राप्त हुने आम्दानीबाट रानाले घरखर्च चलाएका छन्।

'विभिन्न कामका लागि बेला बेलामा काढेको ऋण नर्सरीमा उत्पादित बिरुवा बेचेर तिर्ने गरेको छु, घरखर्च सबै यसबाटै धानेको छु', रानाले भने। उन्नत जातको बीउ उत्पादन गर्ने रानाको नर्सरीबाटै बीउ बिक्री हुन्छ। नर्सरीमा बिरुवाको हेरचाह गर्ने, मल राख्ने, जैविक विषादी छर्कने कार्यमा रानाकी श्रीमती मुन्नीले पनि सहयोग गर्दै आएकी छिन्।

बेदकोट नगरपालिकाको चम्फापुरस्थित ससुरालीमा दुई दशक अघि तरकारीको नर्सरी बनाएर बिरुवा बेच्दै गरेको राना बीउ उत्पादनतर्फ लागेका हुन्। 'ससुरालीमै बसेर नर्सरीको काम सिकेँ', उनले भने, 'अनुभव बटुलेपछि आफ्नै जग्गामा नर्सरी बनाएर बिरुवा बिक्री गर्न थाले।'

रानाले हालसम्म नर्सरीका लागि सरकारी पक्षबाट न त तालिम न अनुदान नै पाएका छन्। 'तालिम तथा सरकारी अनुदान पाउन सके अझै राम्रो गर्न सकिन्थ्यो की जस्तो लागेको छ', उनले भने।  रासस


प्रकाशित : बुधबार, असोज ३० २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend