आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लामा दसैँको समयमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढीको भेडा तथा खसीबोकाको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २८ २०८१
जुम्लामा दसैँको समयमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढीको भेडा तथा खसीबोकाको कारोबार

१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन्। जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्।

जुम्ला-  जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ। चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए। 

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ ७ हजार ९ सय २८ भेडा तथा खसी बिक्री भएका छन्।

१५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन्। जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्। 

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो।

जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजारमा बिक्री भएको जनाइएको छ। अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेका राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए। 

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ। रासस 


प्रकाशित : सोमबार, असोज २८ २०८११३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend