आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बिरौटामा दूध संकलन केन्द्र, गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २४ २०८१
बिरौटामा दूध संकलन केन्द्र, गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्य

'बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ। विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ।'

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको छ। गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले संकलन केन्द्र स्थापना गरेको हो। 

सहकारीका कोषाध्यक्ष युवराज बरुवालले करिब सात लाख रुपैयाँको लगानीमा डिपफ्रिज, चिलिङ र मिल्क एनालाइजर मेसिन खरिद गरी संकलन केन्द्र सञ्चालन गरेको जानकारी दिए।

'हिमालयन चिज उद्योग कोरोना महामारीका कारण बन्द भएपछि घाराका किसानले उत्पादन गरेको दूधले बजार पाउन सकेको थिएन,' उनले भने 'गाउँका किसानबाट दूध संकलन गरेर पोखरेबगर, भुरुङ-तातोपानी, नारच्याङ, दाना, घोडेपानीमा लगेर बेच्ने व्यवस्था मिलाएका छौँ।' 

पैँतीस किसानले दैनिक एक सय ४० लिटरका दरले संकलन केन्द्रमा दूध ल्याउने गरेका छन्। व्यावसायिकरुपमा गाईभैँसीपालन गरेका किसानको समयको बचत र बजारको सुनिश्चित भएको छ। बजारमा बिक्री नभएको दूध प्रशोधन गरेर चिज उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष बिमल बरुवालले बताए। 

'बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकामा अब दूध संकलन र बिक्री वितरण गर्न थालेका छौँ,' उनले भने। विसं २०६६ मा स्थापना भएको सहकारी नियमितरुपमा सञ्चालनमा छ। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले दूध, तरकारी, फलफुल, आलु दूवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , असोज २४ २०८११६:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend