आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

धान खेत बालुवाले भरिँदा मर्कामा किसान, अब बगरमा कसरी गर्नु खेती?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
धान खेत बालुवाले भरिँदा मर्कामा किसान, अब बगरमा कसरी गर्नु खेती?

'पाँचदेखि छ  मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ। अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन।'

सप्तरी- पाक्न लागेको धान बाढीले ध्वस्त गर्‍यो। पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ। 

सप्तरी कञ्चनरुप नगरपालिका-११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न लागेको धानबालीमा बाढीले क्षति गरेपछि दसैँको मुखमा किसानको चिन्ता थपिएको छ। उनले स्थानीय राय खोलाले बेङ्गरि क्षेत्रमा रहेका धानखेतीमा ठूलो क्षति गरेको बताए। 

'राय खोलाको बाँध भत्किँदा ६० भन्दा बढी किसानको खेतीयोग्य जग्गामा बालुवा भरिएको छ', उनले भने, 'जसका कारण उनीहरू ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।'

उहाँका अनुसार यहाँका किसानले यो समस्या तीन वर्षदेखि झेल्दै आएका छन्। यसबारे पटक पटक नगरपालिका र सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको भनाइ छ। 

स्थानीय गोसाइ चौधरीले आफ्नो १२ कठ्ठा जग्गा बालुवाले पुरिएको बताए। उनले भने 'पाँचदेखि छ  मनसम्मको उत्पादन हुने खेत बगरमा जस्तै भएको छ। अहिले हामीले खेती गर्न सक्ने अवस्था छैन।' 

यहाँका स्थानीयको आयको प्रमुख स्रोत खेती नै हो। स्थानीय सरकारले यस विषयमा उचित पहल नगरेको कारण किसान निराश बनेको स्थानीय समाजसेवी भोला पासवानले बताए। यस क्षेत्रमा समयमै समस्याको समाधान गर्न नसकिएकाले कृषि क्षेत्रको उत्पादनमा असर परेको उनले बताए। रासस


प्रकाशित : बुधबार, असोज २३ २०८१०९:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend