आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बाढीले बिगारिदियो भित्र्याउने बेलाको धान, चिन्तामा छन् किसान

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
बाढीले बिगारिदियो भित्र्याउने बेलाको धान, चिन्तामा छन् किसान

बाढीका कारणले सुनसरीको धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ।

सुनसरी- सुनसरी देवान गञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए। उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए।

'दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए। आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए। यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो' उनले भने।
 
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन। उनले भने, 'बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ।'

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए। उनले भने, 'बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो। यसपटक दसैँ दशा भएर आयो।'

बाढीका कारणले सुनसरीको धानबालीमा धेरै क्षति भएको छ। धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ। जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ।

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनले बाढीबाट दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए। उनले भने, 'बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी  छ।' रासस


प्रकाशित : सोमबार, असोज २१ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend