आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लाको पाँच हजार आठसय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो, ३८ करोडभन्दा बढी आम्दानी

बुधबार, असोज १६ २०८१
जुम्लाको पाँच हजार आठसय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो, ३८ करोडभन्दा बढी आम्दानी

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

जुम्ला- जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठसय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ।

उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।

कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिए। जुम्लाका आठवटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए।

जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठसय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए।

आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी ६५ रूपैयाँका दरले स्याउ खरिद गर्दै आएका छन्।

जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend