आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

दसैँका लागि बजार झार्न थालियो मुस्ताङी च्याङ्ग्रा [भिडियोसहित]

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १६ २०८१
दसैँका लागि बजार झार्न थालियो मुस्ताङी च्याङ्ग्रा [भिडियोसहित]

मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गरिन्छ। यसपाली गतवर्षको तुलनामा च्याङ्ग्राको मूल्य सस्तिएको व्यापारीहरूले बताएका छन्।

म्याग्दी- दसैँलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार पठाउन थालिएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङ पुगेर फर्किन थालेका हुन्। 

जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ। दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार मंगलबारसम्म छ हजारभन्दा बढी च्याङ्ग्रा जोमसोमदेखि म्याग्दीतर्फ झरेका छन्। 

यसवर्ष दसैँका लागि मुस्ताङबाट दश हजार च्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ। मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ। 

मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गरिन्छ। यसपाली गतवर्षको तुलनामा च्याङ्ग्राको मूल्य सस्तिएको व्यापारीहरूले बताएका छन्। 

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री गर्ने गरिन्छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजारभन्दा बढी च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।

विस २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ। रासस


प्रकाशित : बुधबार, असोज १६ २०८११४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend