आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषिउपज बीउ संकलन

मंगलबार, असोज १५ २०८१
परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषिउपज बीउ संकलन

संकलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा संकलन केन्द्रमा पुर्‍याउने गरेका छन्।

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ संकलन सञ्चालनमा ल्याएको छ। परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पुर्‍याउने गरेको छ।

२०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली संकलन गर्दै आएको हो। बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ।

सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको १० लाख पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगञ्ज, धनगढी, सुर्खेत, काठमाडौंलगायतका सहर पुर्‍याएर बिक्री गर्ने गरेको छ ।

सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ। पालिकासँगको सहकार्यमा जलवायु अनुकूलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र संवर्द्धन गरिरहेको छ। उक्त सहकारीको बीउ बैंक तथा संकलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ।

सहकारीका सदस्यलाई चार वटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पाशा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ। 

बीउ बैंक तथा संकलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख सहयोग गरेको छ। बीउ बैंक तथा संकलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताए।   

सहकारीको भवन निर्माण भएपछि एक गैरसरकारी संस्थाले रैथाने बाली प्रशोधन, गे्रडिङ, प्याकिङ मेसिन, संकलित बीउ राख्ने ट्यांकी पनि सहयोग गरेको छ। बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धान लगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले बताए। गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ संकलनकर्ताका रुपमा नियुक्त गरिएको छ।

संकलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा संकलन केन्द्रमा पुर्‍याउने गरेका छन्। बीउ वितरण गरेर बढी भएको बाली जिल्लाबाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ। सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्वीन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ।

सहकारीले स्वामिकार्तिकमा नपाइएको परम्परागत बालीको बीउ हिमाली, जगन्नाथ, बूढीनन्दा नगरपालिकाबाट खरिद गर्ने गरेको छ। सहकारीले बीउ बैंकको शाखा बूढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको छ।

अहिले स्वामिकार्तिक गाउँपालिकाको कृषि नीतिमा सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर बीउ बैंक र कृषि उपज संकलन केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

एकसय ७० सदस्य रहेको सहकारीमा एक सय स्वामिकार्तिक गाउँपालिकाका र ७० बूढीनन्दा नगरपालिकाका स्थानीय आबद्ध छन्। सहकारीमा ८० प्रतिशत महिला छन्।

विभिन्न उपलब्धि हासिल गरेर ऋण परिचालन गरिरहेको सहकारीको कोषमा हाल १० लाख रकम रहेको व्यवस्थापक ल्वारले जानकारी दिए। रैथाने बालीको बीउ उपलब्ध गरी खेती गर्न थालेपछि सदस्यहरुले मासिक एक सयदेखि एक हजारसम्म बचत र ऋण परिचालन गरेका छन्। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend